जीडीपीको ४२ प्रतिशत पुग्यो सार्वजनिक ऋणको भार, १० महिनामा थपियो झन्डै एक खर्ब
काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब नजिक छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्मको प्रतिवेदनले यस्तो देखाएको छ । १० महिनाको अवधिमा नै कुल ऋण झन्डै १ खर्ब थपिएको छ ।
प्रतिवेदनअनुसार सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब ४३ करोड १६ लाख रुपैयाँ पुगेको छ । चालु आवको पहिलो महिना अर्थात् साउनमा २२ खर्ब ९९ अर्ब ४५ करोड २४ लाख रुपैयाँ रहेको थियो । तर, बैशाख अन्तसम्म आइपुग्दा भने ९८ अर्ब ७ करोड ९२ लाख रुपैयाँ थपिएको हो । गत चैत महिनाको तुलनामा कुल सार्वजनिक ऋण ११ अर्ब ६४ करोड थप भएको कार्यालयले जनाएको छ । कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आधारमा भने सार्वजनिक ऋण ४२.०२ प्रतिशत पुगेको छ ।
समिक्षा अवधिमा नेपालले तिर्न बाँकी कुल ऋणको आधारमा एक नेपालीको भागमा ८२ हजार २२० रुपैयाँ पर्न पाउँछ । अहिले एक नेपालीले सो बराबरको सार्वजनिक ऋण भार बोकेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार हाल नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ ।
कुल ऋणमा आन्तरिक तर्फ ११ खर्ब ८४ अर्ब ४८ करोड र बाह्य तर्फ १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । यो कुल ग्राहस्थ उत्पादनको आधारमा ऋण भने क्रमशः २०.७६ प्रतिशत र २१.२६ प्रतिशत हो ।

बैशाख मसान्तसम्ममा सरकारले २ खर्ब ६४ अर्ब ५३ करोड ३६ लाख रुपैयाँ ऋण प्राप्त गरेको छ । जसमा बाह्य भन्दा आन्तरिक धेरै छ । सरकारले महँगो ब्याजमा ऋण उठाएको छ । सरकारले बाह्यको तुलनामा आन्तरिक ऋण नै धेरै उठाएर खर्च धानेको प्रष्ट्याउछ । आन्तरिक ऋणको तुलनामा बाह्य ऋण सस्तो पर्छ । बाह्य ऋण परिचालन गर्न नसकेको सरकारलाई ब्याजको भार कम हुन्छ । तर, सरकारलाई बाह्य ऋण उठाउन नसकी आफ्नो खर्च धान्नकै लागि महँगो ब्याजमा आन्तरिक ऋण उठाएको देखिन्छ । समिक्षा अवधिमा सरकारले कुल १ खर्ब ९१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । तर, सो अवधिमा बाह्य ऋण भने ७३ अर्ब ६३करोड ३६ लाख रुपैयाँ मात्रै प्राप्त गरेको छ ।
कार्यालयका अनुसार १० महिनामा सरकारले कुल १ खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख रुपैयाँ ऋण भुक्तानी गरेको छ । जसमध्ये १ खर्ब ३५ अर्ब ६२ करोड ३३ लाख आन्तरिक र ३० अर्ब ९३ करोड ११ लाख रुपैयाँ बाह्य देखिएको छ ।
चालु आर्थिक वर्षमा सरकारले कुल ४ खर्ब ४२ अर्ब ७५ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो । तर, १० महिना बितिसक्दा लक्ष्यको ५८.४५ प्रतिशत मात्रै सार्वजनिक ऋण प्राप्ति भएको देखिन्छ । समिक्षा अवधिमा आन्तरिक तर्फ लक्ष्यको ७९.५८ प्रतिशत र बाह्य तर्फ ३४.६१ प्रतिशत मात्रै ऋण प्राप्ति भएको प्रतिवेदनमा उल्लेख छ ।

चालु आवमा सरकारले आन्तरिक र बाह्य तर्फ कुल २ खर्ब ४० अर्ब र १ अर्ब १२ अर्ब ७५ करोड रुपैयाँ ऋण प्राप्ति गर्ने लक्ष्य लिएको छ । तर, चालु आर्थिक वर्ष सकिन साढे दुई महिना बाँकी रहँदा आन्तरिक तर्फ ४९ अर्ब र बाह्य तर्फ १ खर्ब ३९ अर्ब ११ करोड ६४ लाख रुपैयाँ ऋण प्राप्त गर्न बाँकी छ ।













