एकपछि अर्को नीतिगत लचकता र ब्याजदरमा घट्दो ट्रेन्ड: बैंकबाट ऋण लिँदै धमाधम ‘घरघडेरी’ किन्नेहरु बढे - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

एकपछि अर्को नीतिगत लचकता र ब्याजदरमा घट्दो ट्रेन्ड: बैंकबाट ऋण लिँदै धमाधम ‘घरघडेरी’ किन्नेहरु बढे



काठमाडौं । गत वर्षहरुमा तरलता अभाव लगायतका कारण घरजग्गामा लगानी विस्तार हुन सकिरहेको थिएन् । आर्थिक शिथितलता, चर्को ब्याजदर तथा उच्च महँगीका बैंकहरुले प्रदान गर्ने घर कर्जा बढ्न सकेको थिएन । यस्तो कर्जा प्रवाह करिब करिब ठप्प नै थियो ।

तर, पछिल्लो समय भने यस्तो अवस्था सहज हुँदै आएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर घरघडेरी जोड्नेहरु बढेका छन् । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको एक तथ्याङ्कले यस्तो देखाएको हो । कमर्सियल रियल इस्टेट कर्जा कर्जा बढ्न नसकेपनि व्यक्तिगत आवासीय कर्जा भने बढी रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको बैशाखसम्म आइपुग्दा भने बैंक तथा वित्तीय संस्थाहरुले यस्तो शीर्षकमा कुल ४१ अर्ब १९ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत असार मसान्तसम्मको तुलनामा ११.८३ प्रतिशत बढी हो । गत असारमसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुल ३ खर्ब ४८ अर्ब १२ करोड १३ लाख रुपैयाँ ऋण व्यक्तिगत घर बनाउन प्रवाह गरेका थिए । तर, चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा भने यस्तो कर्जा बढेर ३ खर्ब ८९ अर्ब ३२ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

विशेषगरि घरजग्गा क्षेत्रमा ऋण लगानी बढाउन राष्ट्र बैंकले अपनाएको नीतिगत लचकताले पनि यस्तो कर्जा बढ्न थालेको हो । राष्ट्र बैङ्कले पनि घर कर्जाको सीमा बढाइदिएको छ । यसअघि १ करोड ५० लाख रुपैयाँ रहेको व्यक्तिगत आवासीय घर कर्जाको सीमा २ करोडसम्म पु¥याएको छ । यस्ता नीतिगत लचकता र घट्दो ब्याजदर ट्रेन्डले पनि बैङ्कबाट ऋण लिएर घरजग्गा खरिद गर्ने बढेका हुन् ।

यस्तै, पछिल्लो समय निरन्तर घटिरहेको ब्याजदरका कारण पनि बैंकबाट ऋण लिएर व्यक्तिगत घरजग्गा खरिद गर्नेको संख्यामा बढोत्तरी देखिएको हो । अहिले बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि घट्दै गएको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ, जसले कर्जाको ब्याजदर पनि सस्तिन थालेको हो । यसरी कर्जाको ब्याजदर पनि निरन्तर घटेसँगै यस्तो कर्जा बढेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । अन्य क्षेत्रबाट कर्जाको माग न्युन भएता पनि व्यक्तिगत आवासीय घर कर्जाका लागि भने माग बढ्दो क्रम रहेको बैंकरहरु बताउँछन् ।

तर, व्यक्तिगत आवासीय घर कर्जा बढे पनि कमर्सियल रियल इस्टेट कर्जा भने बढेको छैन । रियल स्टेट तर्फको कर्जा भने ऋणात्मक देखिएको छ । राष्ट्र बैंकका अनुसार यस्तो कर्जा बैशाखसम्म ४७ करोड ९ लाख रुपैयाँ ऋणात्मक छ । गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले रियल इस्टेट कर्जामा २ खर्ब ४९ अर्ब ४४ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, बैशाख मसान्तसम्म आइपुग्दा भने यस्तो कर्जा घटेर २ खर्ब ४८ अर्ब ९७ करोड १३ लाख रुपैयाँ कायम भएको छ ।

बाणिज्य बैंकहरुले दिए घरघडेरी किन्न साढे ३१ करोड ऋण, एनआइसी एशियाको ठुलो लगानी

एक वर्षको अवधिमा वाणिज्य बैंकहरु मात्रै ३१ अर्ब ४७ करोड ८३ लाख रुपैयाँ व्यक्तिगत आवास कर्जा प्रवाह गरेका छन् । समिक्षा अवधिमा ७ वटा बैंकहरुको यस्तो कर्जा घटेको छ भने अन्य बैंकले बढाएका छन् ।

घरघडेरी खरिदका लागि सबैभन्दा ठुलो लगानी एनआइसी एशिया बैंकको देखिएको छ । समिक्षा अवधिमा एनआइसी एशियाले १६ अर्ब १७ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, नबिल बैंकले ४ अर्ब ९० करोड ६० लाख, ग्लोबल आइएमई ३ अर्ब २४ करोड ३९ लाख, सिद्धार्थले २ अर्ब ९० करोड ४७ लाख, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यता, कृषि विकास बैंकले १ अर्ब ८६ करोड ४६ लाख, कुमारीले १ अर्ब ४१ करोड ३३ लाख, सानिमाले १ अर्ब ३८ करोड ६० लाख, नेपाल बैंकले १ अर्ब ३४ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यसैगरि सिटिजन बैंकले ९० करोड ७३ लाख, प्राइम कमर्सियल बैंकले ६८ करोड ८६ लाख, नेपाल एसबिआईले ३५ करोड ६० लाख, माछापुच्छ्रेले १२ करोड ५३ लाख रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा प्रवाह गरेका छन् ।

तर, एभरेष्टसहित ७ वटा बैंकले भने पुरानै कर्जा असुलीमा केन्द्रित देखिन्छन् । ती बैंकहरुले गत वर्षको बैशाख मसान्तसम्मको तुलनामा यो वर्षको सोही अवधिमा यस्तो कर्जा घटाएका छन् । सबैभन्दा धेरै प्रभु बैंकले १ अर्ब ८० करोड बढी कर्जा घटाएको छ । बैंकले गत आवको बैशाखसम्ममा १५ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ बढी कर्जा प्रवाह गरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा कुल १३ अर्ब ९३ करोड २९ लाख कायम भएको छ।

यस्तै, लक्ष्मी सनराइजको व्यक्तिगत आवासीय घर कर्जा पनि १ अर्ब ४५ करोड ९४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ३ करोड, एनएमबिले ७८ करोड ४६ लाख, हिमालयनले ६८ करोड ८४ लाख रुपैयाँ घटाएका छन् । यता, स्ट्याण्डर्ड चार्टर्डले ३० करोड ३१ लाख र एभरेष्ट बैंकले १७ करोड ५८ लाख रुपैयाँ कर्जा घटाएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्