७ श्रावण २०८३, बिहिबार

सरकारको आम्दानी भन्दा खर्च धेरैः २ खर्ब ३७ अर्ब पुग्यो बजेट घाटा, पुँजीगत खर्च भने सधै कमजोर



काठमाडौं । ११ महिना वितिसक्दा पनि सरकारको पुँजीगत खर्च करिब ४५ प्रतिशत मात्रै छ ।

यो वर्ष ३ र्ख २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, असार ३ गतेसम्म आइपुग्दा सरकारको यस्तो खर्च १ खर्ब ३५ अर्ब ७६ करोड ३५ लाख रुपैयाँ मात्रै छ । जुन लक्ष्यको ४४.९४ प्रतिशत मात्रै हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार ११ महिना वितिसक्दा पनि सरकारको पुँजीगत खर्च कमजोर नै देखिएको छ । सो अवधिमा लक्ष्यको आधा पनि खर्च हुन सकेको छैन।

चालु आवमा सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ खर्च गर्ने लक्ष्यम लिएको छ । समिक्षा अवधिमा लक्ष्यको ६४.३२ प्रतिशत मात्रै खर्च भएको छ । जसमध्ये चालु तर्फ लक्ष्यको ७२.२७ प्रतिशत अर्थात् ८ खर्ब २५ अर्ब १५ करोड ९ लाख खर्च भएको छ । यो वर्ष सरकारले कुल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ चालु खर्च गर्ने लक्ष्य राखेको छ ।

यस्तै, वित्तीय खर्च पनि ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँको लक्ष्य लिएकोमा त्यसको ७२.७ प्रतिशत मात्रै खर्च भएको छ । समिक्षा अवधिमा सरकारको वित्तीय खर्च २ अर्ब २३ अर्ब ५० करोड ८८ लाख रुपैयाँ कायम भएको छ ।

सरकारको लक्ष्यअनुसार छैन आम्दानी, २ खर्ब ३७ अर्ब रुपैयाँ पुग्यो बजेट घाटा

सरकारको बजेट घाटा बढ्दै गएको छ । चालु आर्थिक मसान्त सकिन एक महिना मात्र बाँकी रहँदा सरकारको आम्दानी भन्दा खर्च धेरै अर्थात् बजेट घाटा २ खर्ब ३७ अर्ब ३४ करोड ७ लाख रुपैयाँ पुगेको छ। आर्थिक वर्षको अन्तिम अन्तिममा आइपुग्दा सरकारको बजेट घाटा झन चुलिने पुरानै प्रवृत्ति हो ।

समिक्षा अवधिमा सरकारले कुल ९ खर्ब ४७ अर्ब ८ अर्ब २५ लाख आम्दानी गरेको छ । यो आम्दानी लक्ष्यको ६४.३२ प्रतिशत मात्रै हो । चालु आवमा सरकारले कर राजश्व, गैर कर राजश्व अनुदान र अन्य विविध शीर्षकबाट कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । यता, कुल खर्च भने ११ खर्ब ८४ अर्ब ४२ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

यसरी आम्दानी भन्दा खर्च धेरै भएपछि सरकारको बजेट घाटा बढ्दो छ । अझै पनि आर्थिक गतिविधि नबढ्दा राजश्व सङ्कलनमा खास सुधार आउन सकिरहेको छैन । आर्थिक शिथिलताका कारण आयात घटेको छ । यता, व्यापार व्यवसायमा सुधार आउन सकेको छैन, जसले राजश्वमा असर गरिरहेको छ । यता, ऋण तथा अनुदान, गैर कर आम्दानी पनि लक्ष्यअनुसार हुन सकेको छैन । यसरी लक्ष्यअनुसार आम्दानी नहुँदा बजेट घाटामा गएको बताइन्छ ।

महालेखा कार्यालयका अनुसार ११ महिना वितिसक्दा सरकारले लक्ष्यको ६४.७९ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । समिक्षना अवधिमा सरकारले कुल ९ खर्ब २१ अर्ब ६६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको हो । यस्तै, कर राजश्व पनि लक्ष्यको ६३.६९ प्रतिशत अर्थात् ८ खर्ब ३१ अर्ब ४० करोड ९० लाख, गैर राजश्व आम्दानी लक्ष्यको ७७.१ प्रतिशत अर्थात् ९० अर्ब २६ करोड रुपैयाँ छ । चालु आवमा सरकारले राजश्व १३ खर्ब ५ अर्ब ४७ करोड ९६ लाख र गैर कर राजश्व १ खर्ब १७ अर्ब ६ करोड २१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ ।

यता, चालु आवमा सरकारले ४९ अर्ब ९४ करोड ३० लाख अनुदानको लक्ष्य लिएकोमा त्यसको ५.५२ प्रतिशत मात्रै हासिल भएको छ । समिक्षा अवधिमा २ अर्ब ७५ करोड ८० लाख अनुदान र अन्य मार्फत २२ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ आम्दानी प्राप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस्