नीतिगत लचकताले घरजग्गा कारोबार लयमा फर्किने संकेत, अब चलायमान होला ?
काठमाडौं । आर्थिक शिथिलताले सुस्ताएको घरजग्गा कारोबार पछिल्लो समय बढ्न थालेको छ । राष्ट्र बैंकले एकपछि अर्को खुकुलो नीति अपनाएपछि कारोबार बढेको हो ।
पछिल्लो एकै महिना देशभर ६१ हजार बढी घरजग्गा खरिदबिक्री भएका छन् । मासिक रुपमा देशभर ५० हजार भन्दा कम नै कारोबार हुने गरेको थियो ।
तर, भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठ महिनामा ६१ हजार १६१ वटा घरजग्गा खरिदबिक्री भएका छन् । जुन गत बैशाखको तुलनामा २२.८५ प्रतिशत अर्थात् ११ हजार ३७९ वटा बढी हो । गत बैशाखमा भने देशभर ४९ हजार ७८२ वटा घरजग्गा किनबेच भएको थियो ।
कारोबारसँगै राजश्व संकलन पनि वृद्धि भएको छ । गत बैशाखको तुलनामा राजश्व १५.५२ प्रतिशत बढेर ४ अर्ब ३३ करोड ९२ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंकको नीतिगत लचकताले नै कारोबारमा सुधार आएको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बताए । विशेषगरि घरजग्गा क्षेत्रमा कर्जा लगानी बढाउन राष्ट्र बैंकले अपनाएको नीतिगत लचकताले कारोबार जेठमा कारोबार बढेको उनले बताए ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत घरजग्गा कारोबार बढाउनका लागि नीतिगत सहजीकरण गरेको छ । केन्द्रिय बैंकले चालु आवको मौद्रिक नीतिमार्फत व्यक्तिगत आवासीय कर्जाको अधिकतम सिमा पनि बढाएको छ । राष्ट्र बैंकले यस्तो कर्जाको सीमा डेढ करोडबाट बढाएर दुई करोड रुपैयाँ पुर्याइएको छ । यस्तै, घरजग्गा धितोमा प्रवाह हुने कर्जाको जोखिमभार पनि १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कामय छ ।
यता, मौद्रिक नीतिको समिक्षा तेस्रो समिक्षा मार्फत घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सजकीकरण गरेको हो । राष्ट्र बैंकले कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत कायम गरेको छ । सोही नीतिगत व्यवस्थाले नै कारोबार बढेको अध्यक्ष लोहनीले बताए । उनले भने,‘राष्ट्र बैंकले ‘घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाणपत्र पेश गरेको आधारमा ७० प्रतिशत कायम गर्ने’ व्यवस्था गरेको छ । त्यसकै प्रभाव जेठमा देखिएको हो ।’
यद्यपि, ऋण भुक्तानी आम्दानी अनुपात ८० प्रतिशत पुर्याउनु पर्ने उनले बताए । घरजग्गा कारोबार कन्फिडेन्स बढाउन लोन टु भ्यालु रेसियो र कर्जा आम्दानी अनुपातलाई न्युनत ८० प्रतिशत बनाउनुपर्ने उनको भनाई छ । ‘ऋण भुक्तानी आम्दानी अनुपात हामीले ८० प्रतिशत पुर्याउन पहिलेदेखि नै माग गरिरहेका छौं । घरजग्गा क्षेत्र जति धेरै चलायमान हुन्छ, अर्थतन्त्र पनि उत्तिकै चलायमान हुन्छ । लोन टु भ्यालु रेसियो र कर्जा आम्दानी अनुपात न्युनतम ८० प्रतिशत गर्नुपर्छ’, लोहनीले भने ।
यता, व्यवसायीहरु पनि आगामी दिनमा घरजग्गा कारोबार थप बढ्ने बताउँछन् । अर्थतन्त्रका सूचकहरु पनि सकरात्मक रुपमा बढ्दै गएकाले पनि कारोबार थप बढाउने उनीहरुको विश्वास छ । एकपछि अर्को नीतिगत लचकताले थप व्यवसायिक वातावरण निर्माण हुने भएकाले पनि आगामी दिन कारोबार बढ्ने उनीहरु बताउँछन् ।
पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम रकम पनि बढ्दो क्रममा नै छ । यता, कर्जाको ब्याजदर पनि घट्दो छ । यस क्षेत्रमा लगानी बढाउन बैंकहरुले विभिन्न कर्जा योजनासमेत ल्याएका छन् । कतिपय बैंकहरुले एकल अंकको ब्याजदरमै कर्जा उपलब्ध गराउने स्किम पनि ल्याएका छन् । यस्ता कुराले आगामी दिनमा घरजग्ग किनबेच थप बढने बताइन्छ ।
११ महिनामा झन्डै पाँच लाख घरजग्गा खरिदबिक्री
चालु आवको ११ महिनामा देशभर ४ लाख ९१ हजार ११६ वटा घरजग्गा किनेबेच भएको छ । जुन, गत आवको जेठ महिनासम्मको तुलनामा १७.२५ प्रतिशत बढी हो । विभागका अनुसार गत आवको साउनेदेखि जेठसम्म कुल ४ लाख १८ हजार ८३७ वटा घरजग्गा किनबेच भएको थियो ।
विभागका अनुसार मासिक औसतमा साढे ४४ हजार घरजग्गा खरिदबिक्री हुँदै आएको छ । गत चैतमा ५० हजार २५२ वटा, फागुनमा ५० हजार ९९८, माघमा ५० हजार ९२१ वटा घरजग्गा किनेबच भएका थिए । यस्तै, पुसमा ४५ हजार २७५, मंसिरमा ४१ हजार ८५१, कात्तिकमा २६ हजार ४६, असोजमा ३९ हजार ८८१, भदौमा ३५ हजार ६८६ र साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो ।

कारोबार बढेपनि राजश्व भने दबाबमै, कुन महिना कति उठ्यो ?
घरजग्गा कारोबार बढेता पनि राजश्व संकलन भने दबाबमा देखिएको छ । ११ महिनामा देशभर भएको घरजग्गा किनबेचबाट ३७ अर्ब ३९ करोड ६७ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको छ। तर, यो गत आवको सोही अवधिको तुलनामा भने १.३९ प्रतिशत मात्रै बढी हो । गत आवको जेठसम्ममा ३६ अर्ब ८८ करोड ३३ लाख ६६ हजार रुपैयाँ राजश्व उठेको थियो ।
विभागका अनुसार गत जेठमा मात्रै ४ अर्ब ३३ करोड ९२ लाख ४१ हजार रुपैयाँ राजश्व उठेको छ । गत बैशाखमा ३ अर्ब ८६ करोड ३८ लाख १६ हजार, चैतमा ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार, फागुनमा ३ अर्ब ५९ करोड २६ लाख ९१ हजार रुपैयाँ राजश्व उठेको थियो ।
यस्तै, माघ महिनामा ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार रुपैयाँ, पुसमा ३ अर्ब २० करोड ५२ लाख १३ हजार, मंसिरमा २ अर्ब ८६ करोड ५० लाख ११ हजार, कात्तिकमा २ अर्ब १६ करोड ३८ लाख ६७ हजार, असोजमा ४ अर्ब ८ करोड ६६ लाख २९ हजार, भदौमा ३ अर्ब ४ करोड ५९ लाख ४६ लाख र साउनमा २ अर्ब ९१ करोड ४ लाख २७ हजार रुपैयाँ राजश्व उठेको थियो ।

कहाँ कहाँ भयो बढी घरजग्गा किनबेच ?
जेठ महिनामा सबैभन्दा धैरै घरजग्गा कारोबार सुनसरीमा भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी मार्फत एक महिनामा २ हजार ३७६ वटा घरजग्गा खरिदबिक्री भएको छ। दोस्रो धेरै जनकपुरधाम, धनुषामा २ हजार ३४८ वटा घरजग्गा किनबेच भएको छ ।
यस्तै, भद्रपुर झापामा १ हजार ९८१ वटा, बेलवारी मोरङमा १ हजार ९८५, राजविराज सप्तरीमा १ हजार ७२९, मलंगवा सर्लाही १ हजार ५७८, पर्सामा १ हजार ५५४, जलेश्वर महोत्तरीमा १ हजार ५०८, कलैया बारामा १ हजार ४०२, सिराहामा १ हजार ३७०, धनगढी कैलालीमा १ हजार ३३५, तोलिहवा कपिलवस्तु १ हजार ३१३ वटा घरजग्गा किनेबच भएको छ ।
यता, भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर, मोरङमा १ हजार २४९ वटा, भक्तपुर १ हजार १९७, लाहान सिराहमा १ हजार १७७, रुपन्देहीमा १ हजार १७३ वटा, नेपालगञ्ज बाँकेमा १ हजार ११७, लगखनखेल ललितपुरमा १ हजार ८१, तुलसीपुर दाङमा १ हजार ६५, दमक झापा १ हजार २५, काभ्रेपचालन्चोक १ हजार २ वटा घरजग्गा किनबेच भएको छ ।
















