धितोपत्र बोर्डले रोक्यो रिलायन्स स्पिनिङको आइपीओ, अब के होला ?
काठमाडौं । तत्कालका रिलायन्स स्पिनिङ मिलको आइपीओ निष्कासन रोकिने भएको छ । कम्पनीले बुक बिल्डिङ्ग प्रणाली मार्फत सर्वसाधारण आइपीओ ल्याउन लागेको थियो ।
तर, कम्पनीको वित्तीय विवरणमा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले प्रश्न उठाएको छ । समितिले मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई उक्त आईपीओ बारे जानकारी दिन भन्दै ५ वटा प्रश्न गरेर पत्राचार गरेको थियो । त्यसपछि हाललाई सो कम्पनीको आइपीओ निष्कासन रोकिएको बोर्डले जनाएको छ। कम्पनीको आइपीओ अनिश्चित कालका लागि रोकिएको बोर्डले जनाएको छ ।
पछिल्लो समय रिलायन्स स्पिनिङ मिल्सले आईपीओ जारी गर्दा प्रक्षेपित वित्तीय विवरणमा बढी नाफा हुने देखाएको भए पनि हालै सार्वजनिक भएका विवरणहरुले कम्पनीको वास्तविक नाफा ज्यादै कम देखाएको भनेर समितिले प्रश्न उठाएको हो । सेबोनले ७ दिनभित्र संसदीय समितिलाई जवाफ दिनुपर्ने छ ।
अब लेखा समितिको प्रश्नलाई बोर्डले जवाफ पठाएपछि छलफलका आधारमा बल्ल प्रक्रिया अघि बढ्ने छ । रिलायन्सले असार २७ गतेदेखि सर्वसाधरणलाई आइपीओ बिक्री खुला गर्दै छ ।













