बैंक र लघुवित्तप्रति थप उदार बन्यो राष्ट्र बैंक, नाफा बढाउन सुविधै सुविधा
बैंक र लघुवित्तप्रति थप उदार बन्यो राष्ट्र बैंक, नाफा बढाउन सुविधै सुविधा
काठमाडौं । बैंकहरुलाई मुनाफा बढाउन थप राहत हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यही साउन महिनामा उठेको ब्याज रकम पनि गत वर्षको (असार मसान्तसम्म) आयमा गणना गर्न पाउने भएका छन् । राष्ट्र बैंकको यो सुविधाले बैंकहरुलाई नाफा बढाउन टेवा पुग्ने छ ।
यसअघि भने साउन १५ गतेसम्म उठेको ब्याजलाई मात्र असार मसान्तसम्मको आयमा गणना गर्न पाउने सुविधा थियो । तर, सोमबार एक सूचना जारी गर्दै यस्तो व्यवस्थालाई बढाएर साउन मसान्तसम्म पुर्याएको हो । गत शुक्रबार जारी चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीति मार्फत नै केन्द्रिय बैंकले यस्तो सुविधा दिने उल्लेख गरेको थियो ।
सोही व्यवस्था कार्यान्वयनका लागि सोमबार एक सर्कुलर जारी गरेको छ । सोमबार सार्वजनिक सूचनामा भनिएको छ,‘बैंक तथा संस्थाले लेखा नीति बमोजिम आर्थिक वर्ष २०८०/८१ मा लेखांकन गरिएको ब्याज आम्दानीमध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्छ ।’
यस्तै, हालसम्म एनएफआरएस लागू भइनसेका लघुवित्तहरुको हकमा पनि गत आर्थिक वर्ष २०८०/८१ मा पाकेको ब्याज साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई पनि असारसम्मकै नाफामा गणना गर्न पाउनेछन् ।













