चावहिल, डिल्ली बजार र मनमैजु क्षेत्रमा घरजग्गा किनबेच बढ्यो, काठमाडौं उपत्यकामा कहाँ कति कारोबार ?
काठमाडौं । एकै वर्ष काठमाडौं उपत्यकामा ४६ हजार बढी घरजग्गा किनबेच भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
काठमाडौं उपत्यकाको तीन जिल्लामा कुल ४६ हजार २८६ वटा घरजग्गा खरिदबिक्री भएको हो । तर, यो अघिल्लो आवको कुल कारोबारको तुलनामा भने २७७ वटा मात्रै कमी हो । समग्र देशभरको कारोबार बढेपनि मुख्य शहरी क्षेत्रको कारोबार भने अझै दबाबमा देखिएको छ । हाल काठमाडौं उपत्यकामा तीन जिल्लाको ९ वटा मालपोत कार्यालय मार्फत घरजग्गा खरिदबिक्री हुँदै आएको छ ।
विभागका अनुसार गत असार महिनामा मात्रै ४ हजार ९०० वटा, जेठमा ४ हजार ८६३ वटा किनबेच भएका थिए । यस्तै, बैशाखमा ३ हजार ९३८ वटा, चैतमा ४ हजार २६९, फागुनमा ४ हजार २०३, माघमा ४ हजार १६५, पुसमा ३ हजार ४१०, मंसिरमा ३ हजार १७६ वटा घरजग्गा किनबेच भएका थिए । विभागका अनुसार गत कात्तिकमा २ हजार २० वटा, असोजमा ४ हजार २८४, भदौमा ३ हजार ६४६ र साउनमा ३ हजार ४१२ वटा किनबेच भएका थिए ।

चावहिल, डिल्ली बजार र मनमैजु क्षेत्रमा घर-घडेरी किन्नेहरु बढे
काठमाडौं उपत्यका बाहिरका ग्रामिणमुखी घर घडेरी धमाधम खरिदबिक्री भएता पनि मुख्य सहरहरुमा महँगा मूल्यका घरजग्गा किनबेच भने खास सुधार हुन सकेको छैन ।
काठमाडौं उपत्यकामा दरबारमार्ग, डिल्लीबजार, नक्सानल, न्यूरोड, नयाँ बानेश्वर, थापाथली, बबरमहल, रातोपुल,लैनचौर, पुतलीसडक लगायत क्षेत्र महँगोमा पर्छन् । यसबाहेकमा बालाजु बाइपास, बनस्थली, ढुंगेधारा, महाराजगञ्ज लगायतका क्षेत्रमा पनि महँगो मूल्यमा घरजग्गा खरिदबिक्री हुँदै आएको छ । यस्तै रिङरोडभित्र ललितपुर र कलंकी क्षेत्रबाट अधिकांश ठाउँको घरजग्गा पनि महँगो मूल्यमा किनबेच हुने गर्छ । यी क्षेत्रमा खास कारोबार बढ्न सकेको छैन् ।
विभागका अनुसार उपत्यका भित्रका ९ वटा मालपोत कार्यालय मार्फत सबैभन्दा धेरै भक्तपुरमा खरिदबिक्री भएको देखिन्छ । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर मार्फत एक वर्षमा कुल ११ हजार ३० वटा घरजग्गा किनबेच भएका छन् । भक्तपुरमा अघिल्लो वर्षको तुलनामा कारोबार बढेको देखिन्छ । यो वर्ष थप ३१७ वटा घरजग्गा किनबेच भएको छ । अघिल्ला आवमा सो कार्यालय मार्फत १० हजार ७१३ वटा घर घडेरी किनबेच भएका थिए ।
भक्तपुरपछि लगनखेल मार्फत धेरै घरजग्गा किनबेच हुने गरेको छ । गत वर्ष सो कार्यालय मार्फत १० हजार ७२१ वटा घरजग्गा किनबेच भएको छ। अघिल्लो आवमा भने सो कार्यालय मार्फत ७ हजार ७९४ वटा खरिदबिक्री भएका थिए ।
उपत्यकामा सबैभन्दा कम मालपोत कार्यालय गोटीखेल ललितपुर मार्फत एक वर्ष २३० वटा मात्रै घरजग्गा किनबेच भएको छ ।
गत वर्षमा काठमाडौं चावहिल, डिल्ली बजार र मनमैजु क्षेत्रमा सामान्य भएपनि घरजग्गा खरिदबिक्री भएको देखिन्छ ।
सबैभन्दा धेरै मनमैजु क्षेत्रमा बढेको देखिन्छ । मालपोत कार्यालय मनमैजु मार्फत गत वर्ष यो क्षेत्रमा २ हजार ६८६ वटा घरघडेरी किनबेच भएको छ । यो अघिल्लो वर्ष भन्दा ७६६ वटा बढी हो । अघिल्लो आवमा पनि यो क्षेत्रमा १ हजार ९२० वटा मात्रै किनबेच भएको थियो । यता, चावहिल क्षेत्रमा पनि अघिल्लो वर्ष भन्दा २३ वटा बढी घरजग्गा किनबेच भएको देखिन्छ । अघिल्लो आवमा सो कार्यालय मार्फत ५ हजार १४३ वटा खरिदबिक्री भएको थियो । तर, गत वर्ष भने ५ हजार १६६ वटा घरजग्गा किनबेच भएका छन् ।
उपत्यकामा सबैभन्दा महँगो मानिने काठमाडौं डिल्लीबजार क्षेत्रमा पनि एक वर्षमा २ हजार ३५५ वटा घरजग्गा किनबेच भएका छन् । यस क्षेत्रमा एक वर्षको अवधिमा थप ९९ वटा घरजग्गा किनबेच भएका हुन् । अघिल्लो आवमा डिल्ली बजार कार्यालय मार्फत २ हजार २५६ वटा किनबेच भएको थियो ।
विभागका अनुसार मालपोत कार्यालय टोखा मार्फत पनि १ हजार ७३४ वटा खरिदबिक्री भएको छ । अघिल्लो आवमा पनि यस कार्यालय मार्फत १ हजार ७१९ वटा घरजग्गा किनबेच भएको थियो ।
यस्तै, गत वर्ष मालपोत कार्यालय कलंकी मार्फत ७ हजार ८३१ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ । यद्यपि, यो अघिल्लो आवको तुलनामा २११ वटा कमी हो । काठमाडौंको साँखु क्षेत्रमा पनि घरजग्गा किनबेच ह्वात्तै घटेको देखिन्छ । मालपोत कार्यालय साँखु मार्फत गत वर्ष ४ हजार ५३३ वटा घरजग्गा किनबेच भएका छन् । तर, अघिल्लो आवमा भने ५ हजार ७५७ वटा बढी घरजग्गा खरिदबिक्री भएका थिए ।
कारोबार दबाबमै रहेता पनि पौने ४ अर्ब बढ्यो राजश्व
काठमाडौं उपत्यका घरजग्गा किनबेच दबाबमै देखिएता पनि राजश्व संकलन भने बढेको छ । एक वर्षमा झन्डै ४ अर्ब रुपैयाँ राजश्व बढेको हो ।
अघिल्लो आवमा उपत्यकामा भएको घरजग्गा किनबेचबाट सरकारले १५ अर्ब ४ करोड ८४ लाख रुपैयाँ राजश्व उठाएको थियो । तर, गत वर्ष भने ३ अर्ब ८८करोड ८२ लाख रुपैयाँ बढेको छ । विभागका अनुसार गत वर्ष सरकारले कुल १८ अर्ब ९३ करोड ६६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ।
उपत्यकामा राजश्व पनि लगनखेलबाट ४ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ उठेको छ । भक्तपुरबाट ३ अर्ब ३४ करोड ७ लाख रुपैयाँ, डिल्ली बजार मार्फत ३ अर्ब ९ करोड ५४ लाख रुपैयाँ राजश्व संकलन भएको छ।
यस्तै, मालपोत कार्यालय कलंकी मार्फत २ अर्ब ७२ करोड ९८ लाख, चावहिलबाट २ अर्ब ६७ करोड ६५ लाख, साँखुबाट १ अर्ब २ करोड ६५ लाख, मनमैजुबाट ८७ करोड ७ लाख, टोखाबाट ८४ करोड ६ लाख र गोटीखेलबाट ९१ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
















