अपर तामाकोशीले बेच्यो ८ अर्ब ७५ करोडको बिजलुी, व्यापाक मात्रामा यसरी सुधारिँदै छ वित्तीय अवस्था - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अपर तामाकोशीले बेच्यो ८ अर्ब ७५ करोडको बिजलुी, व्यापाक मात्रामा यसरी सुधारिँदै छ वित्तीय अवस्था



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले वित्तीय अवस्था व्यापाक मात्र सुधार गरेको छ । कम्पनीले नोक्सानी घटाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९-८० मा कम्पनीले ४ अर्ब ९ करोड ८२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । तर, गत आवमा आइपुग्दा भने यस्तो नोक्सानी आधा घटाएको छ । कम्पनीले मंगलबार प्रकाशन गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार हाल २ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ नोक्सानीमा छ ।

विशेषगरि कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै नोक्सानी व्यापाक मात्रमा घटाएको हो । एकै वर्ष कम्पनीले कुल ८ अर्ब ७५ करोड २० लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । यो अघिल्लो आवको तुलनामा ७.९३ प्रतिशत बढी हो । अघिल्लो आवमा पवनि कम्पनीले ८ अर्ब १० करोड ९२ लाख बराबरको विद्युत बिक्री गरेको थियो ।

यता, कम्पनीले वित्तीय खर्च पनि ७.८६ प्रतिशत घटाएको छ । अघिल्लो आवमा कम्पनीको यस्तो खर्च ७ अर्ब २७ करोड १६ लाख रुपैयाँ रहेको थियो । तर, गत आवमा आइपुग्दा भने घटेर ६ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष कम्पनीको वित्तीय आम्दानी पनि ३ करोड ७ लाख रुपैयाँ छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १२ रुपैयाँ ६९ पैसा ऋणात्मक देखिएको छ। अघिल्लो आवको सोही अवधिमा पनि कम्पनीको यस्तो आम्दानी ३८ रुपैयाँ ७० पैसा ऋणात्मक नै थियो । यता, कम्पनीको प्रतिसेयर नेटवर्थ ५६ रुपैयाँ ८८ पैसा धनात्मक देखिएको छ। हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ छ। यता, जगेडा कोषमा भने ९ अर्ब १३ करोड २९ लाख रुपैयाँ ऋणात्मक छ।

कम्पनी अन्तर्गतको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट हाल पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन भइरहेको छ ।

सरकारको दीर्घकालिन ऋण भुक्तानीको लागि ३० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका तथा अन्य संस्थागत ऋणप्रदायक संस्थाहरुको दीर्घकालिन ऋण भुक्तानीको लागि ६० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका निर्धारण गरी आव २०८०-८१ को आषाढ मसान्तसम्ममासरकारको पाँच तथा अन्य संस्थाहरुको दश किस्ता सावाँ तथा व्याज भुक्तानी गरिएको कम्पनीले जनाएको छ।

विविध कारणहरुले आयोजना निर्माण सम्पन्न अवधि बढ्न गई समग्र आयोजनाको लागत वृद्धि हुन गएको कम्पनीले जनाएको छ। यसले हासकट्टि खर्च तथा व्याज खर्च अत्यधिक वृद्धि भएको तर त्यस अनुरुप विद्युत विक्रीबाट आम्दानी बढ्न सक्ने अवस्था नरहेकोले आउँदो केहि आवमा समेत कम्पनीको नाफामा असर पर्ने अवस्था देखिएको कम्पनीको विश्लेषण छ ।

कम्पनीको ऋण र स्वपूँजी अनुपातको सुधार गर्न, दोस्रो चरणको निर्माण अन्तर्गतको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणको वित्तीय व्यवस्थापन र आयोजना निर्माणसम्बन्धी बाँकी रहेका भुक्तानीको लागि साविकका शेयरधनीहरुलाई १ः१ को अनुपातमा हकप्रद शेयर जारी गरिएकोले कम्पनीको वित्तीय सूचकहरुमा केही सुधार हुने अपेक्षा समेत कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्