एक जुगको आरोहण, एनआईएमबी एसको १२ वर्ष - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

एक जुगको आरोहण, एनआईएमबी एसको १२ वर्ष



काठमाडौँ । एनआईएमबी एस क्यापिटलले भर्खरै मात्र आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको छ । २०७१ सालमा तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनीको रुपमा एनआईबीएल क्यापिटल नामको कम्पनी स्थापना भएको थियो ।

सुरुमा ३ जना कर्मचारीबाट यो कम्पनी खुलेको हो । टेबल, फर्निचरदेखि सबै सामान मातृ संस्था अर्थात् बैंकले नै उपलब्ध गराएको थियो । सुरुवातमा १० करोड रुपैयाँ चुक्ता पूँजीबाट कम्पनीले काम थालेको थियो ।

कम्पनी स्थापना भएको एक वर्षभित्र नेपाल धितोपत्र बोर्डबाट ‘क्यापिटल’को लाइसेन्स लिने काम सकियो । कर्मचारी पनि विस्तारित हुँदै ३०–४०–५० हुँदै थपिँदै गयो । २०७३ सालतिर म्युचुअल फण्डको पनि लाइसेन्स आयो ।

त्यही साल कम्पनीले पहिलो म्युचुअल फण्ड जारी गर्यो । सेयर रजिस्ट्रार तथा विक्री प्रबन्धकको भूमिकामा भने मेगा बैंकले प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्दाबा बखतबाट जोडिएको हो ।

उक्त आइपीओमा सह–प्रबन्धक भएर मर्चेन्टको काम गरेको कम्पनीका महाप्रबन्धक सचिन्द्र ढुङ्गाना बताउँछन् । ‘सेयर कलेक्ट ट्रेडर भनिन्थ्यो । पोर्टफोलियोको बिजनेस सुरु गर्यौं । आईपीओ आरटिएसको काम सुरू गर्यौं’, ढुङ्गाना सम्झन्छन् ।

सन् २०१५ तिर एनआईबीएल समृद्धि फण्ड भनेर म्युचुअल फण्ड सुरु भयो । त्यो सामुहिक लगानी कोषको आकार १ अर्ब रुपैयाँको थियो । दुई वर्षपछि एनआईबिएल प्रगति फण्ड आयो । ‘त्यो चाहिँ इक्वीटी ओरेन्टड थियो ७५ करोडको’, उनले भने, ‘त्यति बेलाको सबैभन्दा धेरै आवेदन परेको थियो । त्यसपछि हामीले आईपीओ पनि गर्न थाल्यौं ।’

आईपीओको विक्री प्रबन्धकको भूमिकामा रहेर सबैभन्दा धेरै काम आफूहरुले नै गरेको ढुङ्गाना बताउँछन् ।

अहिलेसम्म १५० वटा भन्दै धेरै आईपीओको विक्रीमा आफूहरुले काम गरिसकेको उनले बताए । डिम्याटको लाइसेन्स लिएपछि १ लाखभन्दा धेरै डिम्याट खाता खोलेर यो कम्पनी पहिलो नम्बरमा आएको थियो ।

तर अहिले मर्जर र एक्वीजिशनका कारण तेस्रो स्थानमा पुगेको छ । क्यापिटललाई बैंकले पनि सहयोग गर्दै आएको छ । यही कारण छोटो अवधिमा ब्यापक व्यवसाय विस्तार गर्न सफल भएको ढुङ्गाना बताउँछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट अनुमति लिएरै देशका विभिन्न स्थानमा ६ वटा शाखा सञ्चालन गरिरहेको छ । पोखरा, पाटनको लगनखेल, विराटनगर, भैरहवा र बुटवलमा शाखाहरू सञ्चालनमा छन् ।

एनआईबीएल क्यापिटल नेपालमा खुल्लामुखी म्युचुअल फण्डको पायोनियर नै हो । उसले सुरुमा २० करोडको खुल्लामुखी म्युचुअल फण्डबाट ल्याएको थियो । ‘हामीले नै म्युचुअल फण्डको बाटो खन्ने काम गरेका हौँ’, ढुङ्गाना भन्छन्, ‘सफ्टवेयरदेखि सबै काम हामीले नै सुरुआत गरेका हौँ । नियामकीय लबिङमा पनि हामीले नै काम गर्यौँ ।’

चार वर्ष अघिसम्म नेपाली पूँजी बजारमा थुप्रै आईपीओ आइसकेको थियो । आरटिएस पनि धेरै भइसकेको थियो । कोभिड पछाडि अझै व्यवसाय विस्तार गर्नुपर्छ भनेर म्युचुअल फण्डको नयाँ स्कीममा काम गरेको उनले बताए ।

‘हामी पनि बीमा कम्पनीकै सरहको व्यावसायिक आकार तयार पार्न केन्द्रित भयौँ’, उनले थपे, ‘पोर्टफोलियो व्यवस्थापनले अनलिमिटेड ग्रोथ हुन्छ भनेर त्यतातर्फ टार्गेट गरियो ।’

महाप्रबन्धक सचिन्द्र ढुंगाना ।

क्यापिटलले समृद्धि फण्ड र प्रगति फण्ड योजनाहरु परिपक्क पनि गरसकेको छ । अहिले ऊसँग ५ वटा म्युचुअल फण्ड सञ्चालनमै छन् । खुल्लामुखी म्युचुअल फण्ड, डिम्याट र पोर्टफोलियो अनलिमिटेड गर्नेजस्ता कामले कम्पनीको ब्यावसायिक आकार फैलाउन मद्दत गरिरहेको छ ।

‘अहिलेको मर्चेन्ट बैंकिङलाई हामीले इन्भेष्टमेन्ट बनाउने सोचका साथ अघि बढेका छौँ’ उनी भन्छन्, ‘त्यतिबेला ६० करोडको पोर्टफोलियो थियो । अहिले ६ अर्बको छ । ४-५ वर्षको अवधिमा हामीले १० गुणाले पोर्टफोलियो विस्तार गर्यौं ।

डिम्याट खाताको संख्या पनि डेढ लाखबाट बढेर ५ लाख नाघिसकेको छ । मर्जर र एक्वीजिशनले पछाडी धकेलिएको कम्पनीको बरियतामा पुनः सुधार भएको छ । ‘चौथो स्थानबाट दोस्रो स्थानमा आइसकेका छौं’, उनले थपे, ‘हामीले एस क्यापिटलसँग मर्ज गर्यौं । पुराना डिम्याट अकाउन्टहरू पनि आयो । उताको राम्रो व्यवसाय पनि यता आयो ।’

एससँग मर्ज गर्दा ७ करोड रुपैयाँ थपियो । फेरि मेगा क्यापिटलसँग मर्ज भएपछि अहिले कम्पनीसँग ४७ करोड पूँजी छ । सञ्चित कोषमा रहेको रकमसहित गरेर कम्पनीको पूँजी ७०–८० करोड पुगेको ढुङ्गाना बताउँछन् ।

दुई वर्ष अघिमात्रै प्राइभेट इक्वीटी इन्भेष्टरको समेत लाइसेन्स लिएर १० अर्बको फण्ड साइज दर्ता गरेको छ । अब फण्ड उठाउने क्रममा सुरु भएको छ । एक अर्ब जति बैंकबाट उठिसकेको र त्यो पैसा लगानी पनि गरिकेको कम्पनीले जनाएको छ । ‘अब हामी मर्चेन्टलाई छोडेर इन्भेस्टमेन्ट तिर लागेका छौँ’, उनले भने ।

प्रतिफल र नयाँ योजना

कम्पनी जम्मा १० करोड चुक्ता पूँजीबाट सुरु भएको हो । त्यसपछि एस क्यापिटल र मेगा क्यापिटलसँग मर्ज भएर आउँदा यी दुई कम्पनीबाट २७ करोड पूँजी थपियो । त्यसबाहेकको १० करोड भने बोनस सेयर दिएरै बढाइएको हो ।

कम्पनीले अझै पनि व्यवसायको आकार बढाउने नै रणनीति अघि सारेको छ । प्राइभेट इक्वीटीमा १० अर्ब लगानी गर्ने सोच बनाएको छ । अर्को पनि म्युचुअल फण्ड ल्याउने विषयमा छलफल चलिरहेको छ । ‘सर्भिस र क्वालिटीमा ध्यान दिइरहेका छौं’ ढुङ्गाना भन्छन् ।

अहिले कम्पनीमा १३० जना कर्मचारी कार्यरत छन् । प्राइभेट इक्वीटीको छुट्टै र इन्भेष्टमेन्ट तिर छुट्टै टोलिले काम गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्