‘अफसिजन’मै बढ्यो घरजग्गा किनबेच: राजश्व पनि दोहोरो अंकले वृद्धि, अब लयमा फर्किएला त कारोबार ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

‘अफसिजन’मै बढ्यो घरजग्गा किनबेच: राजश्व पनि दोहोरो अंकले वृद्धि, अब लयमा फर्किएला त कारोबार ?



काठमाडौं । देशभर घरजग्गा कारोबार दोहोरो अंकले वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो अर्थात् साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत साउन महिनामा देशभरका मालपोत कार्यालयहरु मार्फत ४३ हजार ८३५ वटा घरजग्गा खरिदबिक्री भएका छन् । गत आवको साउन महिनाको तुलनामा भने ११.६४ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा भने देशभर ३९ हजार २६३ वटा घरजग्गा खरिदबिक्री भएको थियो ।

विभागका अनुसार साउनमा ४ हजार १६२ वटा घरजग्गाको नामसारी भएका छन् । यस्तै, ११ हजार १५६ वटा घरजग्गा संशोधन भएको छ । साउनमा २९ हजार ६५९ घरजग्गा रोक्का भएका छन् भने २९ हजार ७५ वटा भने फुकुवा भएका छन् ।

अफ सिजनमै घरजग्गा कारोबार बढेको छ । घरजग्गा कारोबारका लागि असारदेखि असोजसम्मको तीन महिनाको अवधिलाई अफसिजन मानिन्छ । उक्त अवधिमा कारोबार अपेक्षित वृद्धि नहुने व्यवसायीहरु बताउँछन् । कारोबारका लागि उपयुक्त सिजन भनेको असोजदेखि जेठ महिनाको अवधिलाई मानिन्छ । उक्त अवधिमा अन्य महिनाको तुलनामामा धेरै घरजग्गा कारोबार हुने गर्छ ।

चालु आवको साउन महिनामा कारोबारसँगै राजश्व संकलन पनि बढेको छ। अघिल्लो आवको साउनको तुलनामा घरजग्गा कारोबार मार्फत उठ्ने राजश्व ३१.७७ प्रतिशत बढेको हो । अघिल्लो आवको साउनमा सरकारले यस क्षेत्रबाट २ अर्ब ९१ करोड ४ लाख २७ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । तर, चालु आवको सोही अवधिमा भने थप ९२ करोड ४६ लाख अर्थात् कुल ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

घरजग्गा कारोबारबाट सरकारले सेवा कर, रजिस्टेशन दस्तुर, पुँजीगत लाभकर लगायत शीर्षकमा राजस्व प्राप्त गर्छ । साउनमा रजिष्ट्रेशन दस्तुर बापत भने २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ। यस्तै, पुँजीगत लाभकर बापत १ अर्ब ३४ करोड ६९ लाख ४८ हजार, सेवा कर बापत २६ करोड ६८ लाख ७८ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

लामो समयदेखि सुस्ताएको घरजग्गा कारोबारले विस्तार गति लिन खोजेको देखिन्छ । विशेषगरि ‘कांग्रेस–एमाले’ को नयाँ सत्ता समीकरण र नेपाल राष्ट्र बैंकले जारी गरेको लचक मौद्रिक नीतिले कारोबारमा सामान्य प्रभाव देखिएको हो । यद्यपि, मौद्रिक नीतिले घरजग्गा कारोबारलाई भने समेट्न सकेको छैन । तर, अर्थतन्त्रका अन्य क्षेत्रमा लिएको खुकुलो नीतिले घरजग्गा कारोबारलाई पनि थप चलायमान बनाउन टेवा पुग्ने व्यवसायीहरुको अनुमान छ ।

यद्यपि, घरजग्गा कारोबारसँगै अर्थतन्त्र चलायमान बनाउन लोन टु भ्यालु रेसियो र कर्जा आम्दानी अनुपातलाई न्युनत ८० प्रतिशत बनाउनुपर्ने व्यवसायीहरुका भनाई छ। चालु आवका मौद्रिक नीतिमा पनि सोही व्यवस्था कायम गर्न व्यवसायीहरु सुझाव दिएका थिए । तर, त्यसमा सरकारले कुनै पनि सम्वोधन भने गरेन ।

पछिल्लो समय अर्थतन्त्रका सूचकहरु पनि निरन्तर सकरात्मक रुपमा बढ्दै गएका छन् । आन्तरिक तथा बाह्य सूचक बलियो बन्दै गएकाले आगामी दिनमा कारोबार थप बढाउने व्यवसायीहरुको बताउँछन् । केही नीतिगत लचकताले थप व्यवसायिक वातावरण निर्माण सृजना गरेकाले कारोबार बढ्ने उनीहरुको अपेक्षा छ । यता, पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम रकम पनि बढ्दो क्रममा नै छ। ब्याजदर महिनैपिच्छे सस्तिएको छ । हाल अधिकांश बैंकहरुले एकल अंकको ब्याजदरमै कर्जा उपलब्ध गराउन सक्ने अवस्थामा आइपुगेका छन् । यसले पनि बैंकबाट ऋण लिएर घरजग्गामा लगानी गर्न ठुलो योगदान मिल्ने उनीहरु बताउँछन् ।

कहाँ–कहाँ कति किनबेच भयो घरघडेरी ?

हाल मुलुकका १३४ वटा बढी मालपोत कार्यालयहरु मार्फत घरजग्गा किनबेच हुँदै आएको छ । घरजग्गा खरिदबिक्री बढी पूर्वी जिल्लाहरुका मालपोत कार्यालय मार्फत हुने गरेको देखिन्छ ।

साउनमा सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी मार्फत घरजग्गा किनबेच भएको छ। सो कार्यालय मार्फत साउनमा १ हजार ९०४ वटा घरजग्गा खरिदबिक्री भएका छ्न् । यस्तै, राजविराज सप्तरीमा १ हजार ६०८ वटा, बेलावारी मोरङमा १ हजार ५२० वटा, भद्रपुर झापामा पनि १ हजार ४६५ वटा घरजग्गा किनबेच भएका छन् ।

यता, भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम धनुषामा पनि १ हजार २१५, मलंगवा सर्लाहीमा १ हजार २९, धनगढी कैलालीमा ९७०, सिराहामा ९६२, कलैया बारामा ९५५, जलेश्वर महोत्तरीमा ९४७, पर्सामा ९३४, तौलिहवामा ९२६, लहानमा ९२१, विराटनगरमा ९०९, लगनखेल ललितपुरमा ९०८, नेपालगञ्ज बाँकेमा ८४८, भक्तपुरमा ८३०, घोराही दाङमा ८१०, बुटवलमा ८०५, काभ्रेपलाञ्चोकमा ८०४ वटा घरजग्गा किनबेच भएका छन् ।

यता, चितवनमा ७८७ वटा, कोहलपुरमा ७८५, तुलसीपुर दाङमा ७४५, दकम झापामा ७३७, रुपन्देहीमा ७०२, पोखरा कास्कीमा ६७८, काठमाडौं कलंकी ६५४, मकवानपुरमा ६३७, सुर्खेतमा ६३६ र रौतहत गौरमा ६०० वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

राजश्व भने उपत्यकाबाटै उठ्छ धेरै

हाल कारोबार हुँदै आएको १३४ वटा मालमोत कार्यालय मध्ये सबैभन्दा धेरै राजश्व भने काठमाडौं उपत्यकाबाट उठ्ने गरेको छ ।

विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरबाट सबैभन्दा धेरै राजश्व ३४ करोड २७ लाख ४१ हजार रुपैयाँ उठेको छ ।

कारोबार ग्रामिणमुखी देखिएता पनि राजश्व भने मुख्य ठुला शहरहरु अगाडि छन् । ती क्षेत्रमा महँगो मूल्यमा घरजग्गा खरिदबिक्री हुने भएका राजश्व पनि बढी उठ्ने गर्छ ।

दोस्रो धेरै राजश्व काठमाडौंको दिल्लीबजार कार्यालय मार्फत २९ करोड ३९ लाख ६७ हजार रुपैयाँ उठेको छ ।

विभागका अनुसार भक्तपुर मार्फत २३ करोड ६७ लाख २२ हजार, चावहिल काठमाडौंबाट २२ करोड ४२ लाख ७७ हजार, कलंकीबाट २२ करोड २७ लाख ८ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै, मालपोत कार्यालय सिमारा बाराबाट १७ करोड ३२ लाख ५६ हजार, कास्कीबाट १४ करोड ६९ लाख ८५ हजार र चितवनबाट ११ करोड ७२ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन भएको छ। यी बाहेकका कार्यालयहरुबाट एक महिनामा १० करोड भन्दा कम राजश्व संकलन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्