कुथेली बुखरी, सानिमा माइ र मान्डुको नाफा अस्वभाविक वृद्धि, ८७ मध्ये ४७ हाइड्रोपावर कम्पनी अझै घाटामै - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कुथेली बुखरी, सानिमा माइ र मान्डुको नाफा अस्वभाविक वृद्धि, ८७ मध्ये ४७ हाइड्रोपावर कम्पनी अझै घाटामै



काठमाडौं । जलविद्युत कम्पनीहरुको वित्तीय अवस्थामा अझै सुधार आउन सकिरहेको छैन । अधिकांश कम्पनीहरु नोक्सानीमै संचालन भइरहेका छन् ।

कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी दोहोरो अंकले वृद्धि हुँदा पनि घाटै चलिरहेका छन् । हाल संचालनमा रहेकामध्ये ८७ वटा हाइड्रोपावर कम्पनीहरुले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–ं८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा ४७ वटा हाइड्रोपावर कम्पनी नोक्सानीमा छन् । त्यसबाहेकका ४० वटा कम्पनीको मात्रै नाफा धनात्मक छ । त्योमध्ये पनि ९ वटाको मात्रै नाफा वृद्धि भएको देखिन्छ । अघिल्लो आवमा ती कम्पनीहरुको औसत नाफा १ अर्ब ३२ करोड ५५ लाख रुपैयाँ रहेको थियो । तर, गत आवमा आइपुग्दा भने ४ अर्ब ६ करोड ८१ लाख रुपैयाँ ऋणात्मक देखिएका छन् ।

कुथेली बुखरी र मान्डु हाइड्रोपावरको नाफामा छलाङ : अपि पावर कमायो सर्वाधिक, यी हुन नाफा वृद्धि गरेका कम्पनीहरु

गत आवमा ९ वटा कम्पनीले मात्रै नाफा वृद्धि गरेका छन् । गत आवमा कुथेली बुखरी स्मल हाइड्रोको नाफा सर्वाधिक (८२७.४३ प्रतिशत) वृद्धि भएको छ। अघिल्लो आवमा १६ लाख रुपैयाँ मात्रै नाफा कमाएको कम्पनीले गत आवमा आइपुग्दा भने १ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै, गत आवमा मान्डु हाइड्रोपावर कम्पनीको नाफा पनि ५०८.१४ प्रतिशत र सानिमा माइ हाइड्रोपावरको नाफा २३९.७५ प्रतिशत वृद्धि भएको छ । गत आवमा यी दुई कम्पनीले क्रमशः २६ करोड ९० लाख र ३६ करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

यता, रिदी विद्युतको नाफा ४२.९६ प्रतिशत, कालिका पावरको २३.८० प्रतिशत युनिभर्सलको २१.४२, विन्ध्यावासिनीको १७.५२, युनाईटेड मोदीको ७.०४ प्रतिशत वृद्धि भएको छ । त्यसैगरि गत आवमा मिड सोलुको नाफा पनि सामान्य १.९२ प्रतिशत वृद्धि भएको देखिन्छ ।

गत आवमा सबैभन्दा धेरै नाफा कमाउनेको पहिलो सूचीमा अपि पावर देखिएको छ । कम्पनीले गत आवमा ४५ करोड ६५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, अघिल्लो आवको तुलनामा भने यो २९.६७ प्रतिशत कमी हो ।

यस्तै, गत आवमा माउटने इनर्जीले २० करोड ३६ लाख ७९ हजार, बुटवल पावरले १७ करोड ६४ लाख, भिजन लुम्बिनी उर्जाले १६ करोड २३ लाख, ग्रीन भेन्चरले १५ करोड ७ लाख, सुपर मादीले १० करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ ।

यता, राधी विद्युत ९ करोड ८६ लाख, कालिका पावर ८ करोड ५८ लाख, घलेम्दी ७ करोड ५० लाख, युनिभर्सल ७ करोड ५० लाख, रुरु जलविद्युत ७ करोड ३६ लाख, भगवती ६ करोड ३० लाख, सुपर माइ ५ करोड ६८ लाख रुपैयाँ नाफामा देखिएका छन् ।

अपर तामाकोशी अझै साढे दुई अर्ब नोक्सानीमा, अन्य कतिले व्यहोरे घाटा ?

गत आवमा झन्डै चार दर्जन कम्पनीहरु घाटामा छन् । अपर तामाकोशी एक्लैले २ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

यस्तै, त्रिशुली जलविद्युत पनि ४२ करोड ५० लाख, बलेफी हाइड्रोपावर ४१ करोड ९७ लाख, शिवश्री ३५ करोड ८८ लाख, माया खोला ३१ करोड ६२ लाख, मोदी इनर्जी ३० करोड ९८ लाख, अरुण काबेलीले ३० करोड १८ लाख रुपैयाँ नोक्सानीमा छन् ।

यी हुन् गत आवमा नोक्सानी व्यहोरेका कम्पनीहरु


प्रतिक्रिया दिनुहोस्