महँगो मूल्यका घरजग्गा किनेबच बढ्योः काठमाडौंको साँखु, टोखा र कलंकी क्षेत्रमा उच्च वृद्धि, कहाँ कति कारोबार ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

महँगो मूल्यका घरजग्गा किनेबच बढ्योः काठमाडौंको साँखु, टोखा र कलंकी क्षेत्रमा उच्च वृद्धि, कहाँ कति कारोबार ?



काठमाडौं । केही वर्षदेखि सुस्ताएको घरजग्गा किनबेच विस्तारै लयमा फर्किने संकेत गरेको छ । पछिल्लो समय देशभर नै समग्र कारोबार बढ्न थालेको छ ।

ग्रामिण तथा सहरी क्षेत्रमा नै कारोबारमा बढोत्तरी देखिएको छ । तथ्याङ्कअनुसार महँगा मूल्य (महँगो एरिया) का घडेरी पनि बढेको पाइन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै प्रकाशन गरेको चालु आर्थिक २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत साउन महिनामा देशभरका मालपोत कार्यालयहरु मार्फत ४३ हजार ८३५ वटा घरजग्गा खरिदबिक्री भएको छ । जुन अघिल्लो आवको साउन महिनाको तुलनामा भने ११.६४ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा भने देशभर ३९ हजार २६३ वटा घरजग्गा खरिदबिक्री भएको थियो ।

देशभरको समग्र कारोबारसँगै महँगो मूल्य तथा क्षेत्रमा पनि घरजग्गा खरिदबिक्री बिक्री बढेको देखिन्छ । विशेष गरि काठमाडौं उत्यकामा पनि घरजग्गा किनबेच दोहोरो अंकले बढेको छ । काठमाडौं उपत्यकामा साउनमा मात्रै ३ जार ९२१ वटा घरजग्गा किनेबच भएको छ । यो अघिल्लो आवको तुलनामा १४.९१ प्रतिशत बढी हो । हाल काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ वटा मालपोत कार्यालय मार्फत घरजग्गा खरिदबिक्री हुँदै आएका छन् । तीन जिल्लामा अघिल्लो आवको साउन महिनामा पनि ३ हजार ४१२ वटा घरजग्गा किनबेच भएको छन् ।

आर्थिक शिथिलताले सुस्ताएको कारोबार विस्तार बढ्न थालेको छ। पछिल्लो समय अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु पनि बलियो बन्दै गएको छ । आर्थिक गतिविधि पनि चलायमान हुँदै गएको छ । सुस्ताएको कारोबार बढाउन सरकारले लिएको केही नीतिगत लचकताले पनि थप टेवा पुगेको पाइन्छ ।

मुख्य शहरी क्षेत्रको कारोबारमा पनि बढोत्तरी देखिएको छ । काठमाडौं उपत्यकामा दरबारमार्ग, डिल्लीबजार, नक्साल, न्यूरोड, नयाँ बानेश्वर, थापाथली, बबरमहल, रातोपुल, लैनचौर, पुतलीसडक लगायतका स्थान महँगो क्षेत्रमा पर्छन् । यसबाहेकमा बालाजु बाइपास, बनस्थली, ढुंगेधारा, महाराजगञ्ज लगायतका क्षेत्रमा पनि महँगो मूल्यमा घरजग्गा खरिदबिक्री हुँदै आएको छ । रिङरोडभित्र ललितपुर र कलंकी क्षेत्रबाट अधिकांश ठाउँको घरजग्गा पनि महँगो मूल्यमा किनबेच हुने गर्छ । पछिल्लो समय यी क्षेत्रहरुमा हुने घरजग्गा कारोबारमा सुधार देखिएको छ ।

पछिल्लो समय बैंकहरुको ब्याजदर पनि सस्तो हुँदै गएको छ । अधिकांश बैंकहरुले एकल अंकको ब्याजदरमै कर्जा उपलब्ध गराउन सक्ने अवस्थामा छन् । हाल बैंकहरुले घरजग्गा क्षेत्रलाई चलायमान बनाउने गरि लगानी विस्तारका लागि विभिन्न स्किम समेत ल्याएका छन् । यसले आगामी दिनमा कारोबार थप बढ्ने व्यवसयाीहरुको भनाई छ ।

विशेषगरि साँखु, कलंकी, चावहिल लगायतमा क्षेत्रमा ह्वात्तै बढेको छ । अघिल्लो आवको साउन महिनाको तुलनामा सबैभन्दा धेरै साँखु क्षेत्रमा १०५.९७ प्रतिशत वृद्धि भएको छ। अघिल्लो साउनमा सो क्षेत्रमा २०१ वटा घरजग्गा किनबेच भएको थियो । तर, गत साउनमा भने बढेर ४१४ वटा कायम भएको छ ।

यता, काठमाडौंको टोखामा पनि कारोबार ७६.२९ प्रतिशत वृद्धि भएको छ। गत साउनमा मालपोत कार्यालय टोखा मार्फत १७१ वटा घरजग्गा किनबेच भएको देखिन्छ । यस्तै, चावहिल क्षेत्रमा २७.९६ प्रतिशत र कलंकी क्षेत्रमा पनि २२.४७ प्रतिशत वृद्धि भएको देखिन्छ । गत साउनमा यी क्षेत्रहरुमा क्रमशः ४५३ र ६५४ वटा घरजग्गा किनेबच भएका छन् ।

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै घरजग्गा किनबेच हुने लगनखेल क्षेत्रमा पनि ९.१३ प्रतिशत वृद्धि भएको छ। गत साउनमा भूमिसुधार तथा मालपोत कार्यालय लखनखेल ललितपुर मार्फत ९०८ वटा घरजग्गा किनबेच भएको छ ।

भक्तपुरमा पनि ४ प्रतिशत वृद्धि भई एकै महिना ८३० वटा घरजग्गा किनबेच भएको देखिन्छ । यता, सबैभन्दा महँगो क्षेत्र मानिने काठमाडौंको डिल्लीबजार आसपासमा पनि ५.१४ प्रतिशत वृद्धि भएको छ। सो क्षेत्रमा एकै महिना १८४ वटा घरजग्गा खरिदबिक्री भएको हो ।

तर, काठमाडौंको मनमैजु र ललितपुरको गोटीखेलमा भने कारोबार घटेको देखिन्छ। अघिल्लो वर्षको साउनको तुलनामा यी क्षेत्रमा क्रमशः २६.३१ प्रतिशत र ४०.९० प्रतिशत घरजग्गा किनबेच भएको छ। गत साउनमा मनमैजु क्षेत्रमा २९४ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ।

काठमाडौं उपत्यका बाहेकका सिमरा बारा, कास्की पोखरा, चितवन, सुनसरी, झापा, विराटनगर लगायतका क्षेत्रका महँगो मूल्यका घरघडेरी किनबेच पनि बढेको देखिन्छ ।

कारोबारसँगै राजश्व पनि ३६ प्रतिशत बढ्यो, नौ कार्यालय मार्फत एकै महिना उठ्यो डेढ अर्ब

काठमाडौं उपत्यकामा घरजग्गा खरिदबिक्रीसँगै त्यसमा मार्फत संकलन हुने राजश्व पनि बढेको छ। अघिल्लो आवको साउनको तुलनामा ३६.२३ प्रतिशत वृद्धि भएको विभागले जनाएको छ।

विभागका अनुसार गत साउनमा काठमाडौं उपत्यकाबाट १ अर्ब ५५ करोड ७९ लाख १२ हजार रुपैयाँ राजश्व उठेको छ। राजश्वमा सबैभन्दा ठुलो योगदान काठमाडौं डिल्लीबजारको देखिएको छ । मालपोत कार्यालय डिल्लीबजार मार्फत संकलन हुने राजश्व ७२.७५ प्रतिशत वृद्धि भई २९ करोड ३९ लाख ६७ हजार रुपैयाँ कायम भएको छ ।

गत साउनमा सबैभन्दा धेरै राजश्व भने लगनखेल ललितपुर मार्फत ३४ करोड २७ लाख ४१ हजार रुपैयाँ संकलन भएको छ। यो अघिल्लो आवको साउनको तुलनामा ४४.३५ प्रतिशत बढी हो । यस्तै, साँखु कार्यालय मार्फत संकलन हुने राजश्व पनि ६७.७६ प्रतिशत वृद्धि भई ९ करोड ५३ लाख ९५ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, चावहिल मार्फत २९.०४ प्रतिशत, भक्तपुरमा २७.८७ प्रतिशत, मनमैजुमा ३२.०६ प्रतिशत र गोटीखेल ललितपुरमा ५.२१ प्रतिशत वृद्धि भएको छ। गत साउनमा मालपोत कार्यालय चावहिलबाट २२ करोड ४२ लाख ७७ हजार, भक्तपुरबाट २३ करोड ३७ लाख, मनमैजुबाट ८ करोड ९८ लाख ५१ हजार, गोटीखेलबाट ८ लाख ९० हजार रुपैयाँ राजश्व संकलन भएको छ।

काठमाडौंको टोखामा घरजग्गा किनबेच वृद्धि भएता पनि राजश्व संकलन भने ३१.१६ प्रतिशत घटेको देखिन्छ । गत साउनमा सो कार्यालय मार्फत ५ करोड ४३ लाख ५८ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।


प्रतिक्रिया दिनुहोस्