ईभी ब्याट्री बजार : चिनियाँ ‘सीएटीएल’ अग्रपंक्तिमा, यस्तो छ कम्पनीहरु बीचको रोचक प्रतिस्पर्धा
काठमाडौं । कुनै समय पेट्रोलियमलाई विश्वको इन्धनको मेरुदण्ड मानिन्थ्यो । तर अहिले त्यो स्थान विस्तारै विद्युतीय ऊर्जाले लिन थालेको छ ।
जलवायु परिवर्तनको दबाब, प्रविधिमा आएको तीव्र विकासका कारण संसार भर विद्युतीय सवारी साधन (ईभी)प्रति आकर्षण तीव्र बन्दै गएको छ । ईभी उद्योगको तीव्र विकाससँगै ब्याट्री बजारमा पनि उथलपुथल आएको छ । अहिले ब्याट्रीको माग पनि आकस्मिक रूपले बढेको छ ।
सन् २०२५ को जनवरीदेखि मे सम्मको अवधिमा मात्रै विश्वभर ४०१.३ गिगावाट घण्टा बराबरको ब्याट्री प्रयोग भएको छ । जहाँ चीनका कम्पनीहरू अग्रस्थानमा छन् । यता, कोरियन र जापानी कम्पनीहरूले पनि आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएका छन् ।
दक्षिण कोरियाली बजार अनुसन्धान संस्था एसएनइ रिसर्चले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । गत वर्षको सोही अवधिमा भएको २८९.५ गिगावाट आवर ब्याट्री प्रयोग भएको थियो । त्यसको तुलनामा यो वर्षको पाँच महिनामा १११.८ गिगावाट घण्टा बढी हो ।
ब्याट्री बजारमा कडा प्रतिस्पर्धा, एकअर्कालाई उछिन्न होड
आजको ईभी ब्याट्री उद्योग एक प्रकारको खुला प्रतियोगिता क्षेत्र बनेको छ, जहाँ विश्वका प्रमुख कम्पनीहरू एकअर्कालाई उछिन्न होड गर्दै छन् ।
यो प्रतिस्पर्धा केवल व्यापारिक फाइदाको मात्र नभई प्रविधि, नवप्रवर्तन र विश्व बजारमा पकड जमाउने लडाइँ पनि हो । यो लडाइँमा अहिले अग्रस्थानमा छ । चीनको सीएटीएल (कन्टेम्पररी एम्पेरेक्स टेक्नोलोजी लिमिटेड) । कम्पनीले पाँच महिनाको अवधिमा १५२.७ गिगावाट आवर ब्याट्री आपूर्ति गरेको छ । सीएटीएलले अहिलेको ब्याट्री बजारको नम्बारको ताज पाएको छ ।
सीएटीएलले कुल ब्याट्री बजारको ३८.१ प्रतिशत हिस्सा कब्जा गरेको छ । गत वर्षको तुलनामा ४०.६ प्रतिशत वृद्धि भएको छ । गत वर्षको जनवरीदेखि मे महिनासम्म कम्पनीले १०८.६ गेगावाट आवर मौ ब्याट्री उत्पादन तथा बिक्री गरेको थियो ।
दोस्रो स्थानमा रहेको बिवाइडीले पनि ठूलो छलाङ मारेको छ । पाँच महिनामा बिवाइडीले ७० गिगावाट आवर ब्याट्री बिक्री गर्दै १७.४ प्रतिशत बजार हिस्सा ओगटेको छ । गत वर्षको सोही अवधिमा पनि कम्पनीले ४४.५ गिगावाट आव मात्रै ब्याट्री बिक्री गरेको थियो ।
यसले चिनियाँ बजारभित्र नै दुई ठूला कम्पनीबीच रोचक प्रतिस्पर्धा चलिरहेको संकेत गर्छ ।
तेस्रो स्थानमा रहेको दक्षिण कोरियाली कम्पनी एलजी इनर्जीले पनि उल्लेखनीय प्रदर्शन गरेको छ । एलजीले ३९.९ गिगावाट घण्टा ब्याट्री आपूर्ति गर्दै १० प्रतिशत बजार हिस्सा बनाएको छ । अघिल्लो वर्षको तुलनामा १४.३ प्रतिशत वृद्धि भए तापनि बजार हिस्सा भने केही गुमाएको देखिन्छ । तर, गुणस्तर र निरन्तरताका हिसाबले एलजी इनर्जी अझै बलियो ब्रान्डका रूपमा स्थापित छ ।
चौथो स्थानमा रहेको चीनको सिएएलबि र पाँचौं स्थानमा रहेको कोरियाली कम्पनी एसके अन दुवैले ४.२ प्रतिशत बजार हिस्सा बनाएका छन् । यी दुबै कम्पनीले बजारको मध्यम तहमा मजबुत उपस्थिति जनाइरहेका छन् । यद्यपि, निकट भविष्यमा ठूला प्रतिस्पर्धी बन्ने सम्भावना छ ।
छैटौं सूचीमा गोसन हाइटेक (३.४ प्रतिशत) र सामसङ एसडीआई (३.३ प्रतिशत) सातौं स्थानमा रहेको छ । यता, पानासोनिक (२.९ प्रतिशत), इभीई इनर्जी (२.७ प्रतिशत) र एसभोल्ट इनर्जी (२.६ प्रतिशत) क्रमशः आठौं, नवौं र दशौं स्थानमा परेका छन् । बाँकी अन्य साना तथा नयाँ ब्रान्डहरूले संयुक्त रूपमा ११.२ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।
ईभी ब्याट्री बजारमा चीनको स्पष्ट प्रभुत्व कायम छ । तर, कोरियन र जापानी कम्पनीहरू पनि नवप्रवर्तन र गुणस्तरको बलमा प्रतिस्पर्धा गरिरहेका छन् । बजारको माग तीव्र गतिमा बढिरहेकाले अबको प्रतिस्पर्धा उत्पादन क्षमताको मात्र नभई, ऊर्जा घनत्व, टिकाउपन, द्रुत चार्जिङ प्रविधि र लागत नियन्त्रणको पनि हुनेछ ।













