एक वर्षमा ६५ अर्बको वैदेशिक लगानी प्रस्ताव, कुन क्षेत्रमा कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एक वर्षमा ६५ अर्बको वैदेशिक लगानी प्रस्ताव, कुन क्षेत्रमा कति ?



काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपालमा करिब ६५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रस्ताव प्राप्त भएको छ। उद्योग विभागका अनुसार असार मसान्तसम्म कुल ६४ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो।

स्वीकृत प्रणालीमार्फत ८४० वटा परियोजनामध्ये ३८९ उद्योगका लागि ६० अर्ब ३५ करोड रुपैयाँ र बाँकी ४५१ उद्योगका लागि ४ अर्ब ६१ करोड रुपैयाँको प्रस्ताव आएको छ।

विभागले यस अवधिमा ३८ वटा परियोजनामार्फत शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) का लागि २ अर्ब ६६ करोड रुपैयाँको लगानी प्रस्ताव आएको जनाएको छ। यस्तै, ७० वटा टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) पनि स्वीकृत भएका छन्।

लगानी प्रस्तावमा पर्यटन क्षेत्र सबैभन्दा अगाडि रहेको छ। यो क्षेत्रमा मात्रै २६ अर्ब ८२ करोड रुपैयाँ लगानी प्रस्ताव आएको हो।

यस्तै सेवा क्षेत्रका ८४ परियोजनामा ३० अर्ब ९० करोड, सूचना प्रविधिका ३८२ परियोजनामा १ अर्ब ८५ करोड, उत्पादनका ५५ परियोजनामा ३ अर्ब ८४ करोड, कृषि क्षेत्रका १२ परियोजनामा १ अर्ब ४६ करोड, र पूर्वाधारका २ परियोजनामा पाँच करोड रुपैयाँको लगानी प्रस्ताव गरिएको छ।

उद्योग दर्ताको दृष्टिले साना उद्योगको संख्या ८२४ रहेको छ भने मझौला १० र ठूला उद्योग ६ मात्र छन्। ती उद्योगहरूबाट १९ हजार ५३६ जनालाई रोजगारी दिने अनुमान गरिएको छ। सूचना प्रविधि, सेवा, पर्यटन, कृषि, जलविद्युत र पूर्वाधार क्षेत्रमा लगानी भएको भए पनि खनिज क्षेत्रमा भने लगानी शून्य रहेको छ।

यस आर्थिक वर्षमा विदेशी लगानीकर्ताले नाफा वापत ९ अर्ब ६१ करोड रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन्। यस्तै, रोयल्टी वापत १ अर्ब ८४ करोड रुपैयाँ, ९९ लाख अमेरिकी डलर, ८७ करोड भारतीय रुपैयाँ र केही युरो समेत लगानीकर्ताहरूले निकासी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्