कर्पोरेट ऋणीले असार मसान्तमा तिरेनन् ब्याज, बैंकर भन्छन्, ‘क्लोजिङको महसुस नै भएन’
काठमाडौँ । नेपाल राष्ट्र बैंकले साउन १५ गतेसम्मै ब्याज तिर्न पाइने गरी निर्देशन जारी गरेपछि ठूला र कर्पोरेट ग्राहकले असार मसान्तमा ब्याज नै नतिरी बसेको बैंकरले बताएका छन् ।
नयाँ मौद्रिक नीतिमार्फत् ऋणीलाई ब्याज तिर्न थप समय दिने राष्ट्र बैंकको निर्णयले ठूला ऋणीलाई सहुलियत भएको हो ।
‘साना ऋणीले त सबै पैसा मसान्त अघि नै तिरिसके । उनीहरुलाई यस्तो कुरा थाहा पनि हुँदैन र चासो पनि हुँदैन’, एक बैंकरले भने, ‘ठूला कर्पोरेट ऋणीले चाहीँ तिरेका छैनन् । विस्तारै तिर्दै छन् ।’
राष्ट्र बैंकले पाकेको ब्याज लिन र त्रैमासिक प्रतिवेदनहरु प्रकाशित गर्न पनि थप समय दिने भनेर परिपत्रमा भनेको छ ।
असार ३२ मै परिपत्र जारी गरेर केन्द्रिय बैंकले त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्नका लागि थप एक साताको समय दिएको हो । यसअघि त्रैमास समाप्त भएको ७ दिनभित्र विवरण प्रकाशन गर्नुपर्ने व्यवस्थालाई अब १५ दिनभित्र प्रकाशन गर्ने समय दिएको छ ।
त्यस्तै, चौथो त्रैमास अर्थात् असार मसान्तको विवरण प्रकाशन गर्न यसअघि २१ दिनको समय दिएको भए पनि अब ३० दिनको समय दिइएको छ ।
त्यस्तै, असार मसान्तमा पाकेको ब्याज पनि साउन १५ सम्म तिर्दा हुने व्यवस्था गरेको छ ।
‘असार सकिएपछि पनि ब्याज उठिरहेको छ । हाम्रो लागि क्लोजिङ त अब साउन १५ हुने भयो’, ती सीईओले भने, ‘असार मसान्तमा त क्लोजिङको महसुस नै गर्न पाइएन ।’
नयाँ मौद्रिक नीति आएसँगै लगानीकर्तामा थोरै हौसला बढेको देखिएको र सेयर बजार पनि विस्तारै उकालो लाग्न थालेकाले १५ दिनको समयका कारण बैंकको ऋण उठाउन सजिलो पर्ने अनुमान बैंकरको छ ।
अहिले यसै पनि ऋण उठ्ने क्रममा सुधार देखिएको थियो । त्यसमाथि यो थपिएको समय र यहीबीचमा बजारमा देखिएको गतिशीलताले पहिलेको तुलनामा केही राम्रो परिणाम आउनसक्ने देखिएको छ’, उनले भने ।













