चेरीको आइकार भी २३ नेपाल मोबिलिटी एक्स्पोमा शोकेसका लागि तयार, कस्तो छ यो गाडी ?
काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी चेरी चेरीको नयाँ एसयुभी नेपाली उपभोक्ता माझ सार्वजनिक हुने भएको छ ।
चेरीले आफ्नो नयाँ पूर्ण विद्युतीय एसयूभी आइकार भी २३ नेपाली दर्शकहरूमाझ पहिलोपटक नाइमाले आयोजना गर्न लागेको नेपाल मोबिलिटी एक्सपो २०२५ मार्फत प्रस्तुत गर्ने तयारी गरेको हो।
रेट्रो स्टाइल र अत्याधुनिक प्रविधिको संयोजनमा बनेको यो एसयूभीले नेपाली विद्युतीय सवारी बजारमा नयाँ धारणा स्थापित गर्ने अपेक्षा गरिएको छ।

चीनमा पहिले नै बिक्रीमा रहेको आइकार भी २३ तीन फरक भेरियन्टहरू दुई वटा रियर–ह्वील ड्राइभ र एक अल–ह्वील ड्राइभमा उपलब्ध छ । युथ एडिसनमा १०० किलोवाट (१३४ एचपी) को मोटर छ भने जसले १८० एनएम टर्क उत्पन्न गर्छ। यो संस्करण प्रतिघण्टा ४७.२८ किलोवाट लिथियम आइरन फस्फेट ब्याट्रीद्वारा संचालित छ र एकपटक चार्ज गर्दा ३०१ किमी सिएलटिसी रेञ्ज दिन सक्छ।

दोस्रो स्ट्याण्डर्ड आरडब्लुडी संस्करणले उस्तै मोटर प्रयोग गरे तापनि यसमा ठूलो ५९.३९ किलोवाट परआवर ब्याट्री जडान गरिएको छ, जसले गर्दा यसको अधिकतम ड्राइभिङ रेञ्ज ४०१ किमी पुगेको छ। शक्तिशाली एडब्लुडी संस्करणमा पछाडिको १०० किलोवाट मोटरका साथै अगाडि थपिएको ५५ किलोवाटको सहायक मोटर छ, जसले गर्दा यसको कुल पावर २११ एचपी र टर्क २९२ एनएम पुग्छ। यो संस्करण ८१.७६ किलोवाट पर आवर टर्नरी लिथियम ब्याट्रीबाट चल्छ र एक पटकको चार्जमा ५०१ किमी सम्म यात्रा गर्न सक्षम छ।
डिजाइनको कुरा गर्दा, आइकार भी २३ ले “बक्सी” लुकमा छ, जसमा गोलो हेडलाइट, क्लामसेल हुड, एलुमिनियम साइड स्टेप, र फ्लेयर गरिएको ह्वील आर्चहरू छन्। पछाडिको ढोकालाई साइडबाट खोल्ने डिजाइनमा राखिएको छ, जसमा बाह्य स्टोरेज बक्स पनि जडान गरिएको छ।

यस विद्युतीय एसयूबीमा ७–इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ब्लुटुथ, एयर कन्डिसन, तथा उच्च संस्करणहरूमा छालाको सिट र इलेक्ट्रिक एड्जस्टेबल सिटहरू समावेश छन्। अन्य सुविधा जस्तै कीलेस इन्ट्री, रियर भ्यु क्यामेरा, र आवश्यक सुरक्षा प्रणालीहरू जस्तै ड्यूल एयरब्याग, एबिएस+इबिडी, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (इएसपी), पार्किङ सेन्सरहरू पनि उपलब्ध छन्।
गाडीको कुल लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम, उचाइ १८४५ एमएम, र ह्वीलबेस २७३५ एमएम रहेको छ। एडब्लुडी संस्करणमा ४३ डिग्री एप्रोच एङ्गल, ४१ डिगी्र डिपार्चर एङ्गल, र २१० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ, जसले गर्दा यसलाई हल्का अफ–रोड उपयोगका लागि पनि उपयुक्त बनाउँछ। पछाडिको ढोकामा रहेको विशेष ‘ब्याकप्याक’ स्टोरेज बक्सले यसलाई थप प्रयोगमुखी बनाएको छ।

अन्तरिक रूपमा, आइकार भी २३ मा लचिलो २×२ सिट व्यवस्था रहेको छ र पछाडिका सिटहरू फोल्ड गर्न मिल्ने भएकाले सामान राख्ने ठाउँ ७४४ लिटर सम्म विस्तार गर्न सकिन्छ। फ्रन्ट सिटहरू इलेक्ट्रिक एड्जस्टेबल छन् भने अन्डर–फ्लोर ट्रंकमा ९० लिटरको थप भण्डारण सुविधा दिइएको छ।
नेपाली बजारका लागि यसको आदिकारीक मूल्य भने तोकिएको छैन । चीनमा यसको शुरुवाति मूल्य ९९ हजार ८०० आरएमबी (१९ लाख १८ हजार ५३३ नेपाली रुपैयाँ) रहेको छ ।
नयाँ डिजाइन, बहुविकल्पीय पावरट्रेन, र व्यावहारिक सुविधासहितको चेरी आइकार भी २३ ले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा दर्शकहरूलाई आकर्षित गर्ने निश्चित देखिन्छ।
यो गाडी नेपाली उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको विद्युतीय एसयूभी हो, जसले शैली, क्षमता, र दिगोपनाको अनुपम संयोजन प्रस्तुत गर्छ।














