१२ श्रावण २०८३, मंगलबार

सिन्धु विकास बैंकको नाफामा उछाल, आम्दानी अन्य सूचक कस्तो ?



काठमाडाैं । आर्थिक वर्ष २०८१/८२ मा सिन्धु विकास बैंक लिमिटेडको खुद नाफा उल्लेख्य वृद्धि भएको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८७.६० प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशत घटेर १३ करोड ३७ लाख ५२ हजार र खुद फि तथा कमिशन आम्दानी ३४.५३ प्रतिशत घटेर १ करोड ४३ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३०.४९ प्रतिशत घटेर १५ करोड ६ लाख ७६ हजार कायम भएको छ भने सञ्चालन मुनाफा ४१७.३९ प्रतिशत बढेर १५ करोड ३५ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा १०.६३ प्रतिशतबाट घटेर ६.०३ प्रतिशतमा सीमित भएको छ। फलस्वरुप बैंकको इम्पेरमेन्ट चार्ज १७ करोड ९० लाख रुपैयाँ रिभर्स भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि १५ रुपैयाँ ६९ पैसा बढेर २१ रुपैयाँ १५ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४०.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ७० पैसा रहेको छ।

५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष ७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पछिल्लो १ वर्षमा बैंकको निक्षेप ३.५८ प्रतिशत घटेको छ भने कर्जा ९.३४ प्रतिशत घटेको छ।