१० अर्बको ऋणपत्र बिक्री गर्दै सरकार, यस्तो छ आन्तरिक ऋण उठाउने कार्यतालिका
काठमाडौं । बुधवार १० अर्ब रुपैयाँ बराबरको तीन वर्षे ‘विकास ऋणपत्र–२०८५’ बिक्री गर्न लागिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो ऋणपत्र बोलकबोल प्रक्रियाबाट बिक्री गरिनेछ भने नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबारसमेत हुनेछ ।
ऋणपत्र धितो राखी कर्जा लिन वा दिन सकिनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र आयकर लाग्ने यस ऋणपत्रको साँवा २०८५ साउन ८ गते फिर्ता गरिनेछ ।
बोलकबोल आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहनेछ । खरिदकर्ताहरू प्रतिस्पर्धी (८५%) र अप्रतिस्पर्धी (१५%) दुवै प्रकारमा सहभागी हुन सक्छन्। अप्रतिस्पर्धी बोलमा कम माग भए बाँकी प्रतिस्पर्धीलाई दिइनेछ भने बढी माग भएमा समानुपातिक रूपमा बाँडफाँट गरिनेछ ।
सरकारले चालु आर्थिक वर्षमा तीन खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने लक्ष्य लिएको छ । साउनदेखि असोजसम्म एक खर्ब १३ अर्ब उठाउने योजना अनुरूप एक खर्ब १० अर्ब बराबरको विकास ऋणपत्र र अन्य बचतपत्रहरू बिक्री गरिनेछन् ।
त्यस अवधिमा १० अर्ब बराबरका ११ वटा तीन वर्षे देखि ११ वर्षे अवधिका ऋणपत्र, २ अर्ब ५० करोडको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र पनि बिक्री गरिनेछ ।
कात्तिकदेखि पुससम्म ८५ अर्ब, माघदेखि चैतसम्म १०९ अर्ब र वैशाखदेखि असारसम्म ५५ अर्ब बराबरको आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरिएको छ । यीमध्ये ट्रेजरी बिल र विकास ऋणपत्र मुख्य माध्यम हुनेछन् ।
सरकारले चालु आवका लागि लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ, जसमा तीन खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यवस्थापन गर्ने योजना छ । त्यसै अनुसार ऋणपत्र, ट्रेजरी बिल र बचतपत्र बिक्रीको तालिका तय गरिएको हो ।













