अर्थतन्त्रको दबाबबीच बैंकहरुले दिए उत्साहजनक संकेत, व्यवासय विस्तारमा कुन-कुन बैंक देखिए एग्रेसिभ ?
काठमाडौं । बैंक व्यवसाय क्रमिक रुपमा सुधारिएको छ । लामो समयदेखि मन्दीको चपेटामा परेको बैंकिङ क्षेत्र अब फेरि गति लिन थालेको छ ।
पछिल्लो समय बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाह दुवै सकरात्मक वृद्धि भएको छ । समग्र अर्थतन्त्र अझै अस्थिर र चुनौतीपूर्ण रहँदा पनि बैंकहरुले निक्षेप संकलन र कर्जा प्रवाह सुधार देखाएका छन् ।
नेपाल बैंकर्स संघबाट हालै प्राप्त गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ्कले यस्ता देखाएको हो । गत असार मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप संकलन दोहोरो अंकमा वृद्धि भएको देखिन्छ ।
अघिल्लो असार मसान्तसम्म बैंकहरुसँग कुल ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो । तर, गत असार मसान्तसम्म आइपुग्दा भने १३.४८ प्रतिशत अर्थात् ७ खर्ब ७६ अर्ब २ करोड रुपैयाँ बढेको छ । गत आवमा बैंकहरुको कुल निक्षेप ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ ।
अधिकांश बैंकहरुको निक्षेप बढेता पनि अघिल्लो वर्षको तुलनामा १० प्रतिशत अर्थात् ३६ अर्ब रुपैयाँ घटेको देखिन्छ । यी बाहेकका सबै बैंकहरुले निक्षेप बढाएका छन् ।
निक्षेपको मामलामा ग्लोबल आइएमई र नबिल बैंक नै अगाडी छन् । समिक्षा अवधिमा ग्लोबल आइएमईको निक्षेप ५ खर्ब ७५ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । यता, नबिल बैंकको पनि ५ खर्ब ३२ अर्ब २४ करोड रुपैयाँ कायम भएको छ । यी दुई बैंकको निक्षेप क्रमशः १३.९० प्रतिशत र १३.५४ प्रतिशत वृद्धि भएको हो । सर्वाधिक निक्षेप बढाउनेमा पनि ग्लोबल आइएमई तगडा देखिएको छ । एक वर्षको अवधिमा नै बैंकमा थप ७० अर्ब १६ करोड रुपैयाँ निक्षेप भित्रिएको छ ।
निक्षेप बढाउन बैंकको दोस्रो सूचीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । बैंकको निक्षेप ६९ अर्ब ४९ करोड रुपैयाँ बढेर ४ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ । यता, तेस्रो स्थानमा रहेको एभरेष्ट बैंकको निक्षेप पनि ६७ अर्ब ८५ करोड रुपैयाँ बढेर ३ खर्ब १ अर्ब १४ करोड रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप पनि ६४ अर्ब ८४ करोड, एनएमबिको ५६ अर्ब ५६ करोड, प्राइम कमर्सियलको ५२ अर्ब ५२ करोड, नेपाल बैंकको ५० अर्ब ७२ करोड, कृषि विकासको ४९ अर्ब ९७ करोड, सिद्धार्थको ३८ अर्ब ५१ करोड, लक्ष्मी सनराइजको ३८ अर्ब २२ करोड र प्रभूको ३५ अर्ब ८६ करोड रुपैयाँ बढेको छ ।
यस्तै, कुमारी बैंकको निक्षेप पनि २८ अर्ब ८६ करोड, सानिमाको २६ अर्ब १० करोड, माछापुच्छ्रेको २४ अर्ब ५१ करोड, नेपाल एसबिआई २४ अर्ब ९ करोड, सिटिजन्सको २२ अर्ब ४१ करोड, स्ट्याण्डर्ड चार्टर्डको १२ अर्ब ५८ करोड रुपैयाँ वृद्धि भएको छ ।
कुन बैंकको निक्षेप बढ्यो, कुनको घट्यो ? (रकम करोडमा)

कर्जा प्रवाहमा कुन कुन बैंक देखिए एग्रेसिभ ?
गत आवमा बैंकहरुको कर्जा प्रवाह पनि ८.८३ प्रतिशत वृद्धि भएको छ । कर्जा प्रवाहमा ग्लोबल आइएमई नै शीर्ष सूचीमा छ । बैंकले कुल ४ खर्ब ४० अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता, नबिलले पनि ४ खर्ब ३३ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा यी दुई बैंकको कर्जा प्रवाह क्रमशः १२.७६ प्रतिशत र ११.६८ प्रतिशत वृद्धि भएको हो ।
रकमको आधारमा पनि ग्लोबल आइएमई नै अगाडी छ । एक वर्षको अवधिमा बैंकले थप ४९ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
दोस्रो सूचीमा रहेको राष्ट्रिय वाणिज्य बैंकले पनि थप ४७ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
गत आवमा एनएमबि बैंकको कर्जा प्रवाह ३८ अर्ब ६९ करोड, एभरेष्टको ३७ अर्ब १६ करोड, लक्ष्मी सनराइजको ३१ अर्ब ४९ करोड, प्राइमको ३१ अर्ब ८ करोड, नेपाल बैंकको २८ अर्ब १८ करोड, इन्भेष्टमेन्ट मेगाको २७ अर्ब ७१ करोड, सिद्धार्थको २२ अर्ब २ करोड, सानिमाको १९ अर्ब ९६ करोड, सिटिजनको १७ अर्ब ५७ करोड, कृषि विकासको १७ अर्ब २४ करोड, माछापुच्छ्रेको १५ अर्ब ९४ करोड रुपैयाँ बढेको छ ।
तर, एनआइसी एशियासहित तीन वटाको कर्जा प्रवाह भने घटेको देखिन्छ । गत आवको एनआइसी एशियाको कर्जा प्रवाह ४५ अर्ब ७९ करोड रुपैयाँ घटेर २ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ कायम भएको छ । यता, स्ट्याण्डर्ड चार्डर्डको १ अर्ब २० करोड र कुमारीको १ अर्ब १० करोड रुपैयाँ घटेको देखिन्छ ।
कुन बैंकले कति दिए ऋण ? (रकम करोडमा)














