१६ कार्तिक २०८३, सोमबार

नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेट साढे ३१ अर्ब, कहाँ जान्छ १२ अर्ब पुँजीगत खर्च ?



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्ष २०८२–८३ का लागि ३१ अर्ब ४० करोड रुपैयाँ भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणले बजेट विवरण सार्वजनिक गर्दै चालू वर्षका योजना र प्राथमिकताबारे जानकारी गराएको हो ।

बजेटमा १२ अर्ब ३९ करोड पुँजीगत खर्च र ६ अर्ब १५ करोड कार्यसञ्चालनका लागि छुट्याइएको छ । बाँकी १२ अर्ब ८५ करोड रुपैयाँ वित्तीय स्रोतबाट जुटाउने योजना छ । प्राधिकरणले यस वर्ष विभिन्न विमानस्थलबाट १६ अर्ब रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।

गत वर्षको तुलनामा यस वर्षको बजेट २ अर्ब ७० करोडले घटेको छ । प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थल सहितका आन्तरिक विमानस्थलहरू मुख्य आम्दानी स्रोत हुनेछन्। बाँकी रकम सरकारको सेयर लगानी, ऋण, अनुदान र बैंक ब्याजबाट व्यवस्थापन गरिने बताइएको छ ।