'एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम' ल्याउँदै एनआईसी एशिया क्यापिटल - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ ल्याउँदै एनआईसी एशिया क्यापिटल



काठमाडाैं । एनआईसी एशिया क्यापिटल लिमिटेडले अर्को खुलामुखी म्युचुअल फण्ड योजना सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ। क्यापिटलले ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ नामक योजना आगामी दिनमा सर्वसाधारणका लागि खुला गर्ने भएको हो।

उक्त योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याउने योजना बनाएको छ। १० करोड इकाईको कुल संरचना रहेको यो योजनामा १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बीजपूँजी स्वरूप योजना प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको छ। बाँकी रहेका ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

यस योजनामा लगानी गर्न चाहने सर्वसाधारणले साउन २९ गतेदेखि आवेदन दिन सक्नेछन्। फण्डमा न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मको लागि आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ।

एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजनामा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। यद्यपि, सो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा आवेदन अवधि भदौ १२ गतेसम्म थप गर्न सकिने व्यवस्था छ। सो अवधिमा कम्तीमा ५० प्रतिशत अर्थात् ५० करोड इकाईका लागि आवेदन प्राप्त भएमा बाँडफाँट प्रक्रिया अघि बढाइनेछ। तर न्यूनतम इकाई बिक्री हुन नसकेमा योजना खारेज गरी १५ दिनभित्र आवेदनकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिनेछ।

यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड स्वयं रहनेछ।


प्रतिक्रिया दिनुहोस्