स्वाभिमान लघुवित्तकाे नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो
काठमाडाैं । गत आर्थिक वर्ष २०८१/८२ मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा उल्लेख्य रूपमा वृद्धि गर्न सफल भएको छ ।
कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार, यस अवधिमा कम्पनीको खुद नाफा ८१९.०८ प्रतिशतले बढ्दै ७ करोड २३ लाख रुपैयाँ पुगेको छ । यसअघि आर्थिक वर्ष २०८०/८१ मा संस्थाको नाफा ७८ लाख ७२ हजार रुपैयाँमा सीमित थियो ।
यस्तै समिक्षा अवधिमा कम्पनीकाे सञ्चालन आम्दानी ७३.९६ प्रतिशतले बढ्दै २ अर्ब ३५ करोड ८० लाख रुपैयाँ पुगेको छ ।भने ब्याज आम्दानी ८६.४३ प्रतिशतले बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । खुद फि तथा कमिशन आम्दानी पनि २०.५० प्रतिशतले वृद्धि भई ३ करोड ५ लाख रुपैयाँ पुगेको छ ।
चौथो त्रैमाससम्ममा कम्पनीको सञ्चालन नाफा १०९ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ९ करोड ८६ लाख रुपैयाँभन्दा ११.०४२० प्रतिशतले बढी हो । दायित्व तथा कर्जामा भएको वृद्धि, कर्जा लगानी विस्तार तथा प्रभावकारी सञ्चालकीय व्यवस्थापनका कारण सञ्चालन नाफा उच्च दरमा वृद्धि भएको कम्पनीको दाबी छ ।
कम्पनीको शेयर पुँजी १५ करोड ३४ लाख रुपैयाँ पुगेको छ, भने जगेडा तथा सङ्कलित नाफा १ अर्ब ३३ करोड ९ लाख रुपैयाँ पुगेको छ । यही अवधिमा निक्षेप जम्मा २२.५४ प्रतिशतले वृद्धि भई २ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जबकि कर्जा लगानी २३.२८ प्रतिशतले वृद्धि भई २ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ पुगेको देखिन्छ ।
यस्तै कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) ४७.१५ रुपैयाँ कायम भएको छ । प्रति शेयर नेटवर्थ १८७.२७ रुपैयाँ रहेको छ भने पीई रेसियो ३८.३८ रहेको वित्तीय विवरणमा उल्लेख छ ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.१५ प्रतिशत विन्दुले घटेर ४.२० प्रतिशतमा झरेको छ।
कम्पनीले आगामी दिनमा शाखा सञ्जाल विस्तार, डिजिटल सेवाको प्रवर्द्धन र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बढाउने लक्ष्य राखेको जनाएको छ भने लगातार वित्तीय सूचकांकहरूमा सुधार गर्दै लगानीकर्ताको विश्वास जित्दै गएको देखिन्छ ।













