नाइमा एक्स्पो : सार्वजनिक भयो नेपालमा बीवाईडी एट्टो–१, कति पर्छ मूल्य ?
काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा आफ्नो नयाँ इलेक्ट्रिक ह्याचब्याक गाडी सार्वजनिक गरेको छ ।
कम्पनीले बीवाईडी एट्टो १ लाई सार्वजनिक गरेको हो । यस गाडीलाई शहरी यातायातका लागि आदर्श मानिएको छ । कम्पनीले यसको आगामी दिनमा नेपालको सबैभन्दा किफायती इलेक्ट्रिक गाडी बन्ने अपेक्षा समेत राखेको छ ।
बीवाईडी एट्टो १ दुई प्रमुख भेरिएन्ट्स डाइनामिक र प्रिमियममा उपलब्ध छ ।
डाइनामिक भेरिएन्टमा ३०.०८ किलोवाट आवरको ब्याट्री राखिएको छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको रेंज दिन्छ । जबकि प्रिमियम भेरिएन्टमा ३८.८८ किलोवाट आवरको ब्याट्री छ । जसले ३०० किलोमिटरको रेंज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यी दुई भेरिएन्ट्सको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
गाडीमा बीवाईडीको अत्याधुनिक ई–प्ल्याटफर्म ३.० प्रयोग गरिएको छ र ४५ किलोवाटको स्थायी चुम्बक मोटरले ७५ हर्सपावर र १३५ एनएम टर्क प्रदान गर्दछ ।
काठमाडौं र पोखरा जस्ता शहरी क्षेत्रमा दैनिक यात्रा गर्नका लागि यो गाडी उपयुक्त मानिएको छ । यसमा ६ वटा एयरब्याग, रोटेटिंग इन्फोटेनमेन्ट स्क्रिन, भ्वाइस कन्ट्रोल, स्मार्ट कनेक्टिभिटी र आधुनिक मिनिमलिस्टिक केबिन जस्ता सुविधाहरू रहेका छन्।
१७५ एमएमको ग्राउन्ड क्लियरेन्स र यसको कम्प्याक्ट डाइमेन्सनले नेपालको विविध सडक अवस्थासँग मेल खान्छ ।
कम्पनीका अनुसार बीवाईडी एट्टो १ पर्यावरणप्रेमी शहरी चालकहरूको लागि बनाइएको हो, जसले किफायती, सुरक्षित र आकर्षक इलेक्ट्रिक गाडी चाहन्छन् ।












