११ श्रावण २०८३, सोमबार

‘नाइमा एक्स्पो’ले ततायो नेपाली अटो बजार : विद्युतीय गाडीहरूको भिड, कुन ब्रान्डको अफर कस्तो ?



काठमाडौं । आजदेखि काठमाडौँमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा विद्युतीय गाडीहरूको प्रदर्शनले विशेष आकर्षण बनाएको छ ।

एक्स्पोमा विभिन्न अटोमोबाइल कम्पनीहरूले नयाँ नयाँ मोडलका विद्युतीय गाडीहरू प्रदर्शनीमा राखेका छन् । गाडीहरुमा अत्याधुनिक फिचरहरू र आकर्षक अफरहरूले यति बेला भृकुटीमण्डमा रौनकता छाएको छ ।

विद्युतीय गाडीहरूको माग नेपालमा दिनप्रतिदिन बढ्दै गएको छ । यस्तो समयमा नाइमा एक्स्पोले नेपालको अटोमोबाइल बजारमा नयाँ युगको शुरुवात भएको संकेत गरेको छ।

विभिन्न ब्रान्डका कम्पनीहरूले उपभोक्तालाई आकर्षित गर्नका लागि भिन्न भिन्न अफर र छुटको घोषणा पनि गरेका छन् । जसले गाडी खरिद गर्ने योजना, रुचि र इच्छाशक्ति भएका व्यक्तिहरूलाई विशेष फाइदा पुर्याउनेछन् ।

विद्युतीय गाडीहरू वातावरणमैत्री यात्रामा मात्र सीमित छैन, किफायती र अत्याधुनिक सुविधासहितको अनुभव पनि दिन्छन् । एक्सपोमा बीवाइडी सिगल, ओमोडा, मिफा–७, महिन्द्रा, फोर्थिङ फ्राइडे लगायतका नयाँ गाडीहरु लन्च भएका छन, जसले उपभोक्तालाई आकर्षक छुट र स्किमहरू प्रदान गर्दै थप उत्साह थपेको छ ।

नाइमा एक्स्पोमा प्रस्तुत भएका यी नयाँ गाडीहरूले भविष्यमा नेपालमा विद्युतीय सवारी साधनको लोकप्रियता अझ बढाउने अपेक्षा गरिएको छ । एक्स्पोमा विभिन्न अटोमोबाइल कम्पनीहरूले नयाँ मोडल र ब्रान्डहरू प्रस्तुत गरेका छन ।

हुन्डाई गाडीहरूमा ८ लाखसम्म छुट

नाइमा एक्स्पोमा उपस्थित लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले हुन्डाईका गाडीहरूमा ८ लाख रुपैयाँसम्मको नगद छुट अफर प्रस्तुत गरेको छ । यस अफरमा १ वर्षको निःशुल्क बीमा र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिन्छ । साथै, बम्पर पुरस्कारको रूपमा एक जोडीलाई ३ रात ४ दिनको भियतनाम भ्रमणको अवसर पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

‘म्याक्सस मिफा–७ ’ १० लाख रुपैयाँ कम मूल्यमा किन्ने मौका

नाइमा एक्स्पोमा म्याक्सस मिफा–१० लाख रुपैयाँ नगद कम मूल्यमा खरिद गर्न सकिनेछ ।

एक्स्पोको अवसर पारेर हिमालय मोटेरेक्सले आफ्नो एमपीभी सेग्मेन्टको प्रमुख गाडी म्याक्सस मिफा–७ सार्वजनिक गरेको छ । यसमा ९० किलोवाट आवरको उच्च क्षमताको ब्याट्री छ, जसले ६३५ किमीको यात्रा क्षमता दिन्छ ।

कम्पनीले बुकिङ गर्दा १० लाख रुपैयाँको नगद छुटको अफर राखेको छ । यसको सामान्य मूल्य १ करोड २५ लाख रुपैयाँ तोकिएको छ ।

ओमोडा जेड ५ एसयुभीमा आकर्षक छुट अफर

नाइमा एक्सपोमा एसबिजी अटोमोबाइल्सले ओमोडा जेड ५ एसयूभि प्रदर्शनीमा राखेको छ । एक्सपो अवधिमा यो गाडी खरिद गर्दा ४ लाख हाराहारी नगद छुट पाइनेछ ।

ओमोडा जेड ५ एडीएएस, ५४० डिग्री क्यामरा, प्यानोरोमिक सनरूफ र डिजिटल क्लस्टर जस्ता अत्याधुनिक सुविधाहरू छन् । यस गाडीको वास्ताविक मूल्य ६० लाख रुपैयाँको आसपास छ । तर, एक्सपोको अफरमा भने ५६ लाख ९९ हजार रुपैयाँ किन्न सकिनेछ ।

१० लाख नगद छुटमा लिपमोटर बी–१० एसयूभि

सांग्रिला मोटर्सले चीनको लिपमोटर बी–१० पनि नाइमा एक्सपोमा सार्वजनिक भएको छ ।

यसमा ६७.१ किलोवाट आवर ब्याट्री र स्मार्ट पार्किङ सिस्टम जस्ता सुविधाहरू उपलब्ध छन् । यसको वास्तविक मूल्य ६० लाख छ । तर, एक्सपोको अफर मूल्य ४९ लाख ९९ लाख राखिएको छ । उच्च भेरिएन्टको अफर मूल्य ५६ लाख ९९ लाख तोकिएको छ । यसले नाइमा एक्सपोमा लिपमोटर बि–१० खरिद गर्दा १० लाख रुपैयाँ हाराहारीमा नगद छुट प्राप्त गर्न सकिनेछ ।

९ लाख रुपैयाँको भारी छुटमा काई एक्स थ्रि प्रो इभि

जीओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीले काई एक्स थ्रि प्रोको मुख्य उच्चतम भेरियन्टमा विशेष अफर ल्याएको छ ।

अफरमा यो गाडी खरिद गर्दा ९ लाख रुपैयाँसम्मको छुट पाइने छ । जसले यसको वास्तविक मूल्य ४८ लाख ९६ हजार भए पनि अफरमा भने ३९ लाख ९६ हजारमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

यसमा ७.३ किलोवाट होम चार्जर, ८ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिस समावेश गरिएको छ ।

फोर्थिङ फ्राइडे इभिः ४०० किमी रेञ्जको स्मार्ट एसयूभी, ६ लाख रुपैयाँ कम मूल्यमा किन्ने अवसर

लक्ष्मी इ–मोबिलिटीले चीनको प्रसिद्ध फोर्थिङ फ्राइडे इभि नेपालमा सार्वजनिक गरेको छ । ६४.४ किलोवाट ब्याट्री क्षमता भएको यस गाडीले ४०० किमीको रेञ्ज प्रदान गर्ने क्षमता राख्दछ ।

यस गाडीमा अत्याधुनिक सुविधाहरू एडीएएस, ६ एयरब्याग, ३६० डिग्री क्यामरा, र डुअल टचस्क्रिन उपलब्ध छन् । यसका साथै नाइमामा यो गाडी विशेष अफर मूल्य ४८ लाख ९६ हजारमा उपलब्ध छ । जुन वास्तविक मूल्यको ६ लाख रुपैयाँ कम हुन आउँछ । यसको सामान्य मूल्य ५४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

बिवाइडी सिगुल : किफायती र भरोसायुक्त ह्याचब्याक, कति पर्छ मूल्य ?

बिवाइडी सिगुल विश्वभर सफल छ । अब नेपालमा २८ लाख ९५ हजारको प्रारम्भिक मूल्यमा उपलब्ध छ । यस ह्याचब्याक गाडीमा ४५ किलोवाट मोटर र ६ एयरब्याग जस्ता प्रमुख सुरक्षा फिचरहरू छन् । हाल यो गाडी दुई भेरिएन्ट्स उपलब्ध छन्, जसको अर्को भेरिएन्टको मूल्य ३२.९९ लाख रहेको छ ।