२४ भदौ २०८३, बुधबार

कुजुले ल्यायो शक्तिशाली, स्मार्ट र भरपर्दो इलेक्ट्रिक स्कुटरहरू, सुरुवाती मूल्य २ लाख ८५ हजारदेखि



काठमाडौं । विश्वमै अग्रणी विद्युतीय दुईपांग्रे सवारी साधन निर्माता याडिया ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले याडिया भेलाक्स सिरिज नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

नाइमा नेपाल मोबिलिटी प्रदर्शनी २०८२ सँगै सार्वजनिक गरिएको यो नयाँ सिरिजले नेपालमा स्मार्ट, सुरक्षित र दिगो विद्युतीय सवारीको नयाँ अध्यायको सुरुवात गरेको हो।

भेलाक्स सिरिज तीन फरक मोडेलहरू समावेश छन्, जसले नेपाली उपभोक्ताहरूका फरक आवश्यकता र यात्राको प्रकृतिलाई ध्यानमा राखेर डिजाइन गरिएको छ।

लाक्स यू मोडेलमा ४ दशमलव ९ किलोवाट मोटर र ७४ भोल्ट २० एम्पियर आवरको डुअल लिथियम–आयन ब्याट्री रहेको छ, जसले एकसय चालिस किलोमिटरसम्मको यात्रा गर्न सक्ने क्षमता राख्दछ र अधिकतम गति घण्टामा ८० किलोमिटरसम्म पुग्दछ। भेलाक्स फास्ट चार्जिङ मोडेलमा ३ दशमलव २ किलोवाट मोटर र ७६ भोल्ट ३० एम्पियर आवर ब्याट्री छ, जुन जम्मा बीस मिनेटमा अस्सी प्रतिशत चार्ज भई एकसय दस किलोमिटर यात्रा गर्न सक्षम छ।

त्यस्तै, भेलाक्स एच मोडेल भने दैनिक प्रयोगकर्ताका लागि उपयुक्त छ, जसमा ३ दशमलव २ किलोवाट मोटर र ७२ भोल्ट ३० एम्पियर आवर ब्याट्री रहेको छ, जसले एकसय किलोमिटरसम्मको रेञ्ज प्रदान गर्दछ।

यी स्कुटरहरूमा आधुनिक प्रविधिहरू जस्तै क्रुज कन्ट्रोल, रिभर्स मोड, कुञ्जीविना सुरु गर्ने प्रणाली, मोबाइल अनुप्रयोगमार्फत सवारी नियन्त्रण, चोरीविरुद्धको सचेतना प्रणाली, ब्याट्री ट्र्याकिङ, सर्भिस डाइग्नोस्टिक, पुनः ऊर्जाजन्य ब्रेक प्रणाली, युएसबी चार्जिङ, एलईडी बत्ती, र पूर्ण डिजिटल ड्यासबोर्डजस्ता सुविधा उपलब्ध छन्। यी सुविधा प्रयोगकर्तालाई अझ सहज, सुरक्षित र प्रविधिमैत्री यात्रा अनुभव प्रदान गर्छन्।

भेलाक्स स्कुटरमा कम्पनीले तीन वर्ष वा तीस हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराएको छ। साथै, कुजु नेपालले देशभरका बाह्रभन्दा बढी स्थानमा आधिकारिक विक्रेता नेटवर्क स्थापना गरेर परीक्षण यात्रा, अघिबुकिङ र सहज किस्ताबन्दी सुविधा पनि प्रदान गरिरहेको छ।

कम्पनीले भनेकाे छ, ‘भेलाक्स सिरिजसँगै नेपाली उपभोक्तालाई अझ बढी शक्ति, प्रविधि र भरपर्दो यात्रा अनुभव दिने विद्युतीय स्कुटर उपलब्ध गराउँदैछौं। तेज चार्ज, लामो रेञ्ज र प्रिमियम सुविधा भएका यस्ता स्कुटर अब हरेक नेपाली परिवारको रोजाइ बन्नेछन्।’

एक सयभन्दा बढी देशमा सत्तरी करोडभन्दा बढी प्रयोगकर्ताको विश्वास जितेको याडिया ब्रान्डले अब नेपालको सडकमा पनि अन्तर्राष्ट्रिय स्तरको विद्युतीय यात्रा अनुभव ल्याएको छ। यससँगै नेपालले विद्युतीय सवारीमार्फत दिगो, सफा र स्मार्ट यात्रातर्फ आत्मविश्वाससाथको अर्को पाइला अघि बढाएको छ।