२४ भदौ २०८३, बुधबार

नाइमा एक्स्पोमा एभरेष्ट बैंकको आकर्षक कर्जा अफर, गाडी किन्न ६.५२ प्रतिशत ब्याजदरमै ऋण दिने



काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा एभरेष्ट बैंकले गाडी खरिदको इच्छा राख्ने ग्राहकलाई विशेष अफर र छुटका साथ आकर्षक बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

गत बुधवार अर्थात् साउन २१ गतेदेखि चलिरहेको एक्स्पो एभरेष्ट बैंकले विभिन छुटमा कर्जा सुविधा उपलब्ध गराएको हो ।

ग्राहकले अब ६.५२ प्रतिशतको ब्याजदरमा गाडी कर्जा प्राप्त गर्न सक्नेछन् । भोलि अर्थात् साउन २६ गतेसम्म सञ्चालन हुने एक्स्पोमा एभरेष्ट बैंकले विशेष गाडी कर्जा योजना अघि सारेर ग्राहकहरुलाई विभिन्न सुविधा र छुटका अफरहरू दिनका लागि स्टल राखेको छ ।

विशेष अफर र कर्जा योजनाले गाडी किन्ने इच्छुक ग्राहकलाई अझै आकर्षित गरिरहेको बैंकले जनाएको छ ।

कर्जा योजनामा ग्राहकले ५.२७ प्रतिशतको बेसरेटमा १.२५ प्रतिशत प्रिमियम थपेर ६.५२ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सक्छन् । बैंकले ग्राहकहरूलाई कर्जा लिँदा ०.५० प्रतिशत मात्र प्रोसेसिङ शुल्क तिर्नुपर्ने जानकारी दिएको छ ।

बैंकका अनुसार योजनाले ग्राहकलाई व्यक्तिगत र व्यावसायिक प्रयोजनका लागि कार, भ्यान, जिप र स्पोट्र्स युटिलिटी भेइकल (एसयूभी) जस्ता सवारी साधन खरिद गर्न कर्जा प्रदान गर्नेछ ।

ग्राहकले आफ्ना आवश्यकता अनुसार मासिक आम्दानीको ३० गुणा सम्म कर्जा प्राप्त गर्न सक्नेछन् । साथै, कर्जा भुक्तानीका लागि बैंकले अधिकतम ७ वर्षसम्मको समयावधि प्रदान गर्ने बताएको छ ।

प्राकृतिक व्यक्तिको निजी प्रयोजनका लागि गाडीको खरिद मूल्यको कम्तीमा ४० प्रतिशत र विद्युतीय सवारीको हकमा पनि ४० प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ ।