साढे दुई गुणा बढ्यो नेशनल लघुवित्तको नाफा, यो वर्ष ३३ प्रतिशत लाभांश बाँड्न सक्ने हैसियत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

साढे दुई गुणा बढ्यो नेशनल लघुवित्तको नाफा, यो वर्ष ३३ प्रतिशत लाभांश बाँड्न सक्ने हैसियत



काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको नाफामा उछाल आएको छ । कम्पनीको नाफामा शतप्रतिशत वृद्धि भएको छ।

कम्पनीले बुधवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

अघिल्लो आवमा कम्पनीले २० करोड ५ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने १३६.३२ प्रतिशत बढेर ४७ करोड ४० लाख ४६ हजार रुपैयाँ कायम भएकोे छ ।

कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ११ करोड ७२ लाख रुपैयाँ ब्याज उठाएको थियो । तर, गत आवमा भने बढेर १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ कायम भएको छ ।

यता, संचालन नाफा पनि ३३ करोड ७९ लाख रुपैयाँबाट बढेर ६७ करोड ७२ लाख रुपैयाँ कायम भएको छ । यसरी खुद ब्याज आम्दानी र संचालन नाफामा उछाल आएपछि खुद नाफामा पनि चामत्कारिक वृद्धि देखिएको हो ।

कम्पनीको वितरणयोग्य नाफा ४४ करोड १ लाख ८३ हजार रुपैयाँ देखिएको छ । यसका आधारमा यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई ३३.०५ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड १६ लाख रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा १ अर्ब ४९ करोड ६ लाख रुपैयाँ राखेको छ ।

हाल कम्पनीको खराब कर्जा ४.११ प्रतिशत छ । कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ३५.६० रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्