‘शुन्य सहनशीलता’ नीतिमा कडाइ, अब शंकाका भरमा भिजिट भिसा यात्रु नरोकिने
काठमाडौं । वैदेशिक यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले अध्यागमन विभागले यात्रु, एयरलाइन्स, स्थानीय तहसहित सात पक्षलाई कडाइपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन प्रक्रियामा अनियमितता तथा भ्रष्टाचारप्रति शून्य सहनशीलता नीति लागू गरिने बताएका हुन् ।
उनले केवल शंका वा हैसियतको आधारमा नेपालीलाई विदेश जानबाट नरोकिने स्पष्ट गर्दै फर्जी कागजात लिएर प्रस्थान गर्न खोजेमा कानुनी कारबाही हुने चेतावनी समेत दिए ।
महानिर्देशक तिवारीले यात्रुहरुलाई वैध राहदानी, भिसा, हवाई टिकट, होटल बुकिङ वा आफन्तसँग बस्ने प्रमाण र डलर सटहीजस्ता आवश्यक कागजात बिनानै यात्रा नगर्न सुझाए। साथै, दलालको प्रलोभनमा नपर्न र अध्यागमन प्रक्रियामा भ्रष्टाचार देखिए तत्काल जानकारी दिन आग्रह गरे ।
एयरलाइन्सलाई समयमै यात्रुलाई ‘स्टेरेलाइज्ड एरिया’ मा पु¥याउन, ओभरबुकिङबाट बच्न र बोर्डिङ नदिँदा स्पष्ट जवाफ दिन भनेका छन् ।
स्थानीय तह र प्रशासनलाई दलालबिरुद्ध सचेतना र निगरानी अभियान चलाउन भनेका छन् भने सञ्चारमाध्यमलाई झुटा कागजात तथा दलाल गतिविधिबारे जनचेतनामूलक सूचना प्रवाह गर्न अपिल गरिएको । विभागले सबै सरोकारवाला पक्षलाई अध्यागमन सुधारमा जिम्मेवार बन्न पुनः आह्वान गरेको छ ।















