नाडा अटो शो २०२५ : उड्ने सवारीदेखि स्मार्ट कारसम्म, आजदेखि सुरु हुँदै अटो क्षेत्रको महाकुम्भ
काठमाडौं । सहरका सडकहरू भविष्यतर्फ उन्मुख हुँदैछन् । यीनै यात्रालाई साक्षी राख्न नाडा अटो शो २०२५ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।
‘गो फर मोर’ भन्ने मूल नारासहित आयोजना हुन लागेको यस वर्षको संस्करणले नेपालका अटोप्रेमीहरूलाई स्मार्ट, दिगो र प्रविधिमैत्री सवारीसाधनहरूको संसारमा डुबाउने छ ।
नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को आयोजनामा हुने यो १७औं संस्करण विशेष महत्वको मानिएको छ । किनकि नाडाले यसैवर्ष आफ्नो स्थापनाको ५०औं वर्षगाँठ पनि मनाइरहेको छ। अटो शोको भव्य उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिँदैछ ।
१९ ब्रान्डका कारदेखि उड्ने सवारीसम्म
यस वर्षको शोमा १९ वटा लोकप्रिय चारपांग्रे सवारी ब्रान्डहरू, १३ हल्का व्यावसायिक सवारी ब्रान्डहरू र ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू सहभागी हुँदैछन् ।
साथसाथै, अटो पाट्र्स, टायर, ब्याट्री, लुब्रिकेन्ट, ग्यारेज उपकरण र वित्तीय सेवा प्रदायक गरी ३५ कम्पनीहरू पनि प्रदर्शनमा रहनेछन् ।
प्रदर्शनीमा १ लाखभन्दा बढी दर्शकको उपस्थितिको अपेक्षा गरिएको छ । १२५ भन्दा बढी प्रदर्शकले विभिन्न नयाँ मोडेल, प्रविधि र सेवाहरू अवलोकन गराउने छन् ।
आकर्षणका केन्द्रहरू
प्रदर्शनीको विशेष आकर्षणमा युनिट्री रोबोट्सको अत्याधुनिक चारपांग्रे रोबोट र डिपलले विकास गरेको ईभीटोल यूएभी एक प्रकारको उड्ने सवारी छन् । यी प्रदर्शनीले नेपालमा भविष्यतर्फको मोबिलिटी कल्पनालाई प्रस्ट चित्रण गर्नेछन् ।
त्यस्तै, भिन्टेज मोटर शो मा बिटल, मोरिस माइनर, टोयोटा आरटी४०, मिनी कुपर, माज्दा फेमिलिया, टोयोटा एमआर२ जस्ता पुराना तर ऐतिहासिक कारहरूको प्रदर्शनीले पुराना पुस्तालाई नस्टाल्जिया दिनेछ भने नयाँ पुस्तालाई अटो इतिहासको झलक दिनेछ ।
स्वदेशी उत्पादन र अन्तर्राष्ट्रिय सहकार्य
‘मेड इन नेपाल’ प्याभिलियनले स्वदेशमै निर्मित सवारी तथा अटो पाट्र्स प्रदर्शनीमार्फत नेपाली उत्पादन क्षमताको पहिचान गराउनेछ । साथै, अन्तर्राष्ट्रिय व्यापार प्याभिलियन मार्फत विदेशी कम्पनीहरूसँग सहकार्य विस्तार गर्न सकिने अवसर पनि उपलब्ध हुनेछ ।
सेमिनार, कार्यशाला र संवाद
साथसाथै, ईभी (इलेक्ट्रिक भेहिकल) र स्मार्ट मोबिलिटी विषयमा विभिन्न सेमिनार, कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिँदैछ । जसले अटो क्षेत्रका व्यवसायी, नीति निर्माताहरू र उपभोक्ताबीच प्रत्यक्ष संवादको अवसर प्रदान गर्नेछ ।













