सरदार भीमबहादुर पाँडेको सम्मानमा हुलाक टिकट सार्वजनिक
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटमार्फत राष्ट्रप्रेमी र राष्ट्रसेवकको पहिचान स्थापित गर्दै तिनको योगदानलाई जीवन्त रूपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्।
काठमाडौँमा हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रमका क्रममा मन्त्री गुरुङले सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा हस्ताक्षर गरेका थिए।
उनले भने, “हुलाक टिकट इतिहासको दस्तावेज हो। यसले राष्ट्रसेवकहरूको योगदानलाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्यमा मद्दत गर्दछ।”
सरदार भीमबहादुर पाँडे देशभक्त काजी कालु पाँडेका छैठौँ पुस्ताका वंशज हुन् र उनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेका पिता पनि हुन्। उनले भारतबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर हासिल गर्ने पहिलो नेपालीको रूपमा इतिहास रचेका थिए।
प्रशासन, कूटनीति, लेखन र समाजसेवामा गरेको योगदानको कदरस्वरूप प्रकाशित हुलाक टिकट ठूलो सम्मान भएको मन्त्री गुरुङले बताए। उनले अग्रजको योगदानलाई सम्मान गर्ने र युवा पुस्तालाई प्रेरणा दिने उद्देश्यले यस्तो पहल महत्वपूर्ण रहेको धारणा व्यक्त गरे।
















