नक्कली अख्तियारकर्मी बनेर एक करोड माग्ने दुई जना पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नक्कली परिचय दिएर एक करोड रुपैयाँ माग गर्ने दुई व्यक्ति राजधानीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कीर्तिपुर बस्ने डोटीका २७ वर्षीय लक्ष्मण पनेरु र सुकेधारा बस्ने झापाका ५४ वर्षीय विनोद साह रहेका छन् ।
साहले योजना बनाएर पनेरु मार्फत पीडितलाई बारम्बार फोन गराई धम्की दिएको प्रहरीले जनाएको छ ।
टोखा निवासी एक व्यक्तिलाई ‘तपाईंको नागरिकता नक्कली छ’ भन्दै छानबिनको नाममा रकम मागिएको थियो । रकम नदिए जेल पठाउने चेतावनीपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।
अनुसन्धानपछि प्रहरीले उनीहरूलाई कलंकीबाट पक्राउ गरेको हो । दुवैजना अख्तियारसँग कुनै सम्बन्ध नराखेको पुष्टि भएको छ । अहिले उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।















