स्थिति चर्किंदै गर्दा के भन्छन् कुलमान घिसिङ ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जेनजीसहित सबै नागरिकलाई संयमित बन्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको राजीनामापछि सार्वजनिक सम्पत्ति तोडफोड गर्नु उचित नहुने उनले बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै घिसिङले सरकारको गैरजिम्मेवारीले स्थिति बिग्रिएकोमा दुख व्यक्त गरेका छन्। उनले भनेका छन्,‘पुनर्निर्माण पनि हाम्रै पैसाबाट हुन्छ, अबको मार्गदर्शन संयमता र दीर्घकालीन सुधार हो ।’
उनले अन्तरिम चुनावी सरकार गठन गरी मध्यावधि निर्वाचनमार्फत देशलाई संकटबाट बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् ।
यस्तो छ उनले फेसबुकमा लेखेको स्टाटस:
काठमाडौं उपत्यकासहित देशभर जेनजीले सुशासन, जवाफदेहिता र सामाजिक सञ्जालमाथिको प्रतिवन्ध हटाउन माग राखेर गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले बर्बरतापूर्वक दमन गर्दा उत्पन्न दुखद परिस्थिति हामी सबैका माझमा छर्लङ्ग छ ।
सरकारको गलत रबैया, गैरजिम्मेवारीपन र असंवेदनशीलताका कारण आज जुन खालको परिस्थिति सिर्जित भएको छ, यसबाट हामी सबै दुखित छौं । प्रधानमन्त्रीको राजिनामा समेत स्वीकृत भैसकेको अवस्थामा म जेनजीसहित देशका सम्पूर्ण देशभक्त नेपाली नागरिकहरुलाई अपील गर्दछु कि अब संयमित हुने समय आएको छ । जेन जीको विरोध प्रदर्शन र त्यसपछि विकसित घटनाक्रम पछि प्रधानमन्त्रीले राजीनामा दिई सकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पति तोडफोड नगर्न सम्पूर्ण आन्दोलनरत पक्षलाई अनुरोध गर्दछु। सार्वजनिक सम्पति तपाईं हाम्रै करबाट निर्माण भएको र पुनःनिर्माणमा पनि हाम्रै पैसा खर्च हुने हुँदा यस तर्फ ध्यान दिई संयमित बन्न अनुरोध गर्दछु । अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो । हामी सम्पूर्ण नागरिक, विशेषतः आन्दोलनमा सहभागी युवापुस्ता, संलग्न संस्थाहरूलगायत सबैलाई यो संवेदनशील घडीमा धैर्य, आत्ममूल्यांकन र सहकार्यको भावनाबाट अघि बढ्न हार्दिक आह्वान गर्दछौं।
जेन जी सहित अन्तरिम चुनावी सरकार गठन गरेर मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यामान संकटबाट निकास दिन आवश्यक छ ।
देश परिवर्तनको संवेदनशील मोडमा उभिएको छ। त्यसका लागि विधिसम्मत, विवेकसम्मत र समन्वयात्मक बाटो अपनाउनु अहिलेको प्राथमिकता हो । यो कालो समयलाई चिर्दै उज्यालो नेपाल सम्भव छ, तपाई हामी मिलेरै यसलाई सार्थक बनाउनेछौं ।















