पूर्व कार्यकारी निर्देशक शाक्यको रिटमाथि आज सुनुवाइ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यकाल पूरा हुनुअघि नै हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासमा उक्त रिट पेशी तोकिएको हो । सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोग सचिवालयमा सरुवा गरेपछि उनले उक्त निर्णयविरुद्ध अदालतमा रिट दायर गरेका हुन् ।
शाक्यलाई २०८१ चैत ११ गते चार वर्षे कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो । तर, सुशीला कार्की नेतृत्वको सरकारले २०८२ असोज ५ गते उनको सरुवा गरेको हो ।
यसअघि पनि २०७७ माघ २६ मा कार्यकारी निर्देशक बनेका शाक्यलाई कांग्रेस–माओवादी गठबन्धन सरकारले २०७८ साउन २५ गते पदबाट हटाएको थियो । त्यसबेलाको रिटमा ३२ पटक पेसी सारिँदा अन्तत: उनको कार्यकाल नै सकिएको थियो ।













