गुराँस लघुवित्तले तीन महिनामै कमायो डेढ करोड नाफा, इपिएस पनि बढ्यो
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले तीन महिनामा डेढ करोड नाफा कमाएको छ । कम्पनीले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत असोज मसान्तसम्म कम्पनीले १ करोड ४४ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।यो नाफा गत आवको सोही अवधिको तुलनामा ४२.५७ प्रतिशत धेरै हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३६.७३ प्रतिशत वृद्धि भई ४ करोड २९ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि ३९.५४ प्रतिशत बढेर २ करोड २ लाख रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै कम्पनीको खुद नाफा वृद्धि भएको हो । समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६४ लाख २२ हजार रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी भने १४.९३ रुपैयाँ बढेर ५०.०२ रुपैयाँ कायम भएको छ। यता, प्रतिसेयर नेटवर्थ भने १७२.१८ रुपैयाँ कायम भएको छ ।
खराब कर्जा पनि झिनो सुधार भई ३.१३ प्रतिशत कायम भएको देखिन्छ । हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ५८ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने ८ करोड ३७ लाख रुपैयाँ राखेको छ ।
















