सालपा विकास बैंककाे आईपीओ निष्काशन, क-कसले दिन पाउँछन् आवेदन ?
काठमाडाैं । सालपा विकास बैंककाे आईपीओमा आजदेखि आवेदन दिन सकिने भएकाे छ । कम्पनीले मंसिर २५ गते बिहिबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे हाे।
बैंकले निष्काशन गरेकाे यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन सक्नेछन् ।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशतले हुन आउने अर्थात १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १० गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।













