पशुसेवा कार्यालय ललितपुरलाई सरकारले जबरजस्ती स्थानात्नतरण गर्न खोजेको भन्दै राष्टिय किसान संजालको आपत्ति
ललितपुर । ललितपुरको लगनखेलस्थित पशुसेवा कार्यालयलाई सरकारले जबरजस्ती स्थानान्तरण गर्न खोजेको भन्दै राष्ट्रिय किसान सञ्जालले गम्भीर आपत्ति प्रकट गरेको छ । २००८ सालदेखि सञ्चालनमा रहेको र हजारौं किसानलाई सेवा दिँदै आएको कार्यालय हटाउन खोजिएको भन्दै सञ्जालले विरोध जनाएको हो ।
ललितपुर महानगरपालिका वडा नं. १५ मा रहेको यो कार्यालय आफ्नो स्वामित्वको करिब ६.५ रोपनी जग्गा र व्यवस्थित भौतिक पूर्वाधारसहित सञ्चालनमा छ । काठमाडौँ, भक्तपुर र ललितपुरका पशुपालक किसानहरूका लागि यो एक भरोसायोग्य केन्द्रका रूपमा रहिआएको छ ।
हालै वागमती प्रदेश सरकारबाट समेत सहमति लिई उक्त कार्यालयलाई अन्यत्र सार्ने प्रक्रिया अघि बढेको जानकारी सार्वजनिक भएपछि किसान सञ्जालले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
लगनखेल क्षेत्र यातायातको सहज पहुँच, किसानमैत्री सेवा प्रवाह र बजारसँगको प्रत्यक्ष सम्पर्कका दृष्टिले अत्यन्त उपयुक्त छ ।कार्यालय सार्दा किसानहरूलाई सेवा लिन गाह्रो हुनुका साथै थप आर्थिक र समयको व्ययभार पर्ने भन्दै जिल्ला अदालत ललितपुरको इजलास विस्तार गर्ने प्रयोजनका लागि किसानको सेवा केन्द्रमा हस्तक्षेप गर्नु राज्यको किसानमैत्री नीतिको मर्मविपरीत भएको सञ्जालको ठहर छ ।
पशुसेवा कार्यालयलाई यथास्थानमै निर्वाध रूपमा सञ्चालन गरिनु अपरिहार्य रहेको सञ्जालले स्पष्ट पारेको छ । किसानको हित र पशुपालन क्षेत्रको विकासलाई ध्यानमा राखी यो प्रक्रिया तुरुन्त रोक्न र सोही स्थानमा सेवा सुनिश्चित गर्न सञ्जालले सम्बन्धित सरोकारवाला निकायसँग जोडदार माग गरेको छ ।
















