पोखरामा २ हजारबढी कृषक मौरीपालनमा, वार्षिक ९० टन जति मह उत्पादन
पोखरा । पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन व्यवसायमा सम्लग्न छन् । पछिल्ला वर्षमा मौरीपालनतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।
महानगरभित्रका वडामध्ये विशेषत: १६, १८, २०, २३, २६, २८, ३०, ३३ लगायतका वडामा मौरीपालनतर्फ आकर्षण बढिरहेको छ । महानगरभित्र हाल वार्षिक ९० टन जति मह उत्पादन हुने गरेको कडरियाले बताए । मह उत्पादन हुने क्रम बढ्दो क्रममा रहेको कडिया बताउँछन् ।
महानगर क्षेत्रमा विशेषत: सेरेना जातका मौरीपालन गर्ने गरिएको कडियाले जानकारी दिए । “बजारमा महको माग बढ्दो छ, उत्पादन गर्न सकेमा बजारको समस्या छैन”, कडियाले भने, “यस क्षेत्रमा मह उत्पादनको सम्भावना राम्रो भएका कारण आयआर्जनको महत्वपूर्ण विकल्प बन्ने देखिन्छ ।”
मौरीपालनबाट अन्य कृषिजन्य उत्पादनमा पनि फाइदा पुग्ने कडियाको भनाई छ । पछिल्ला समयमा मौरीपालन व्यवसायलाई व्यावसायिक बनाउनका लागि समय समयमा विभिन्न किसिमका तालिम पनि प्रदान गर्दै आइएको छ । अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजना तथा पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रको समन्वयमा यहाँका किसानलाई आइतबारदेखि ६५ दिने मौरीपालक तह– १ तालिम दिन सुरु गरिएको महानगरले जनाएको छ ।
पोखरा महानगरपालिका–२६ लेखनाथ ढलेपिपल कृषि सेवा केन्द्रमा तालिमको सुरुआत गरिएको शाखा प्रमुख कडरियाले जानकारी दिए । तालिममा महानगर क्षेत्रका २० अगुवा किसान सहभागी बन्नुुभएको उनले बताए ।
















