माघ २२ गतेदेखि आईपीओ निष्कासन गर्दै होटल फरेष्ट इन, ३३ लाख २० हजार कित्ताका लागि आवेदन खुल्ने
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आगामी माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।
कम्पनीले आफ्नो कुल जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसअघि नै विदेशमा रहेका नेपालीका लागि ४ लाख कित्ता, सामूहिक लगानी कोषका लागि २ लाख कित्ता र कर्मचारीहरूका लागि ८० हजार कित्ता शेयर बाँडफाँट भइसकेको छ।
अब बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको ३३ लाख २० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते बन्द हुने कम्पनीले जनाएको छ।













