चैत ८ देखि सानिगाड हाइड्रोको ८५ लाख कित्ता बढी आईपीओ खुल्दै, कसले दिन पाउँछन् आवेदन?
काठमाडाैं । चैत ८ गतेदेखि सानिगाड हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरण अन्तर्गत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि विशेष प्राथमिकता दिँदै शेयर बिक्री खुला गर्न लागेको हो।
कम्पनीले कुल २ अर्ब ८५ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत हिस्सा अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर जारी गर्ने अनुमति पाएको छ। यसमध्ये स्थानीयका लागि २८ करोड ५० लाख रुपैयाँ बराबरको २८ लाख ५० हजार कित्ता शेयर छुट्याइएको छ।
यो शेयर मुख्यगरी सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित बुंगल नगरपालिकाका विभिन्न वडाहरूमा बसोबास गर्ने बासिन्दाहरूका लागि लक्षित गरिएको छ।
स्थानीयतर्फ विनियोजित शेयरमध्ये १८ लाख ५२ हजार ५०० कित्ता बुंगल नगरपालिकाका अति प्रभावित वडा नं. १, २ र ४ का बासिन्दाहरूलाई वितरण गरिनेछ। बाँकी रहेको ९ लाख ९७ हजार ५०० कित्ता शेयर सोही नगरपालिकाका अन्य वडाहरू (३, ५, ६, ७, ९, १० र ११) का बासिन्दाहरूका लागि बाँडफाँट हुने व्यवस्था मिलाइएको छ।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ५ लाख ७० हजार कित्ता शेयर सुरक्षित गरिएको छ, जुन सर्वसाधारणका लागि छुट्याइएको हिस्साको १० प्रतिशत हुन आउँछ।
लगानीकर्ताहरूले यस आईपीओमा सहभागी हुन न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
यस निष्कासनमा वैदेशिक रोजगारीमा रहेकाहरूले चैत ११ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ भने स्थानीय बासिन्दाका लागि भने चैत २२ गतेसम्मको समयसीमा तोकिएको छ।













