राजस्व चुहावट नियन्त्रणमा सरकारले कार्यदल गठन गरी नतिजामुखी काम गर्ने
काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि ’शून्य सहनशीलता’ (जिरो टोलरेन्स) को नीति अख्तियार गर्दै विशेष अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व छली र चोरी पैठारी नियन्त्रणका लागि एउटा विशेष कार्यदल (टास्क फोर्स) गठन गरी तत्काल नतिजा देखिने गरी काम गर्ने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावट रोक्न र शान्ति सुरक्षाका संयन्त्रलाई परिचालन गरी राजस्व संकलनको लक्ष्य भेटाउन स्पष्ट निर्देशन दिएका थिए ।

सीमा र बजारमा कडा निगरानी
बैठकपछि अर्थपथ डटकमसँग कुरा गर्दै प्रवक्ता पाण्डेयले सीमा नाकाहरूमा सूक्ष्म निगरानी बढाउने र बजार अनुगमनलाई प्रभावकारी बनाउने सहमति भएको जानकारी दिए ।
‘सीमाभित्र र बाहिर जहाँसुकैबाट हुने राजस्व चुहावटलाई नियन्त्रण गर्न र बजार अनुगमनलाई प्रभावकारी बनाएर जान एउटा कार्यदल गठन गर्ने निर्णय भएको छ’, प्रवक्ता पाण्डेयले अर्थपसँग भने, ‘कार्ययोजनासहित तत्काल नतिजा देखिने गरी काम गर्नुपर्नेमा मन्त्रीज्यूहरूले जोड दिनुभएको छ ।’
सरकारले चालू आर्थिक वर्षको राजस्व लक्ष्य भेटाउन सबै क्षेत्रले आ–आफ्नो भूमिका सशक्त बनाउनुपर्ने निष्कर्ष निकालेको छ । बैठकमा राजस्व छलीका जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी ती क्षेत्रमा निर्मम ढंगले प्रस्तुत हुने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
मन्त्रालयले बैठकका ठोस निर्णयहरूलाई लिपिबद्ध गरी तत्काल कार्यान्वयनका लागि सम्बन्धित सुरक्षा र प्रशासनिक निकायहरूमा पठाउने तयारी गरेको छ । वर्तमान सरकार गठन भएपछिको यो समितिको पहिलो बैठक हो । जसले अर्थतन्त्र सुदृढीकरणका लागि राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखेको संकेत गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालयका सचिव, अर्थ र गृह सचिवहरूका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको सहभागिता रहेको थियो ।
यस्तै, राजस्व प्रशासनसँग सम्बन्धित भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागका प्रमुखहरूले राजस्वको वर्तमान अवस्था र चुनौतीबारे प्रस्तुति दिएका थिए ।













