कालंगा हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
चैत १० गतेदेखि बिक्री खुला गरिएको यस आईपीओमा इच्छुक स्थानीयले आज (चैत २४ गते) बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ।
कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोही अनुमति बमोजिम पहिलो चरणमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयर स्थानीयका लागि बिक्रीमा ल्याइएको हो। प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ।
निष्कासित कुल शेयरमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्ट्याइएको छ। यसअन्तर्गत बझाङको केदारस्यूँ गाउँपालिका (वडा नं. ४ र ५), बित्थडचिर गाउँपालिका (वडा नं. ६ र ८), बुंगल नगरपालिका (वडा नं. ३, ४, ६, ८ र ५) का बासिन्दा पर्दछन्। यस्तै, बैतडीको डिलासैनी गाउँपालिका (वडा नं. १ र २) तथा दार्चुलाको शैल्यशिखर नगरपालिका (वडा नं. १) का बासिन्दाले पनि यो कोटामा आवेदन दिन पाउनेछन्।
बाँकी रहेको ४ लाख ९० हजार कित्ता शेयर भने प्रभावित जिल्लाका अन्य क्षेत्रका लागि सुरक्षित गरिएको छ। यसमा बझाङका केदारस्यूँ, बित्थडचिर र बुंगल, बैतडीको डिलासैनी र दार्चुलाको शैल्यशिखर नगरपालिकाका अति प्रभावित बाहेकका सबै वडाका स्थायी बासिन्दाहरूले शेयर भर्न सक्ने कम्पनीले जनाएको छ।













