विश्व दूध दिवस २०८३: पोषण सुरक्षा र आर्थिक समृद्धिका लागि सप्ताहव्यापी अभियान
काठमाडौं । नेपालमा जुन १, २०२६ (जेठ १८, २०८३) का दिन “दुग्ध क्षेत्रको दिगो विकास पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार“ भन्ने मूल नाराका साथ २६ औं अन्तर्राष्ट्रिय विश्व दूध दिवस भव्यताका साथ मनाइने भएको छ ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (ँब्इ) को आह्वानमा सन् २००१ देखि विश्वभर र सन् २०११ देखि नेपालमा यो दिवस मनाउन थालिएको हो । यस वर्ष राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा विभिन्न सरकारी तथा निजी सरोकारवाला निकायहरूले जेठ १४ देखि १९ गतेसम्म साताव्यापी कार्यक्रमहरू आयोजना गर्ने तय गरेका छन् ।
जेठ १८ गते काठमाडौंमा आयोजना हुने मूल समारोहमा कृषि, वन तथा वातावरण मन्त्री माननीय गीता चौधरी प्रमुख अतिथिको रूपमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा दुग्ध क्षेत्रमा विशिष्ट योगदान पुर्याउने महानुभावहरूलाई सम्मान गरिने समेत बोर्डले जनाएको छ ।
साताव्यापी कार्यक्रम अन्तर्गत उपत्यकाव्यापी विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, बालबालिका तथा वृद्धवृद्धाहरूलाई दूध र फलफूल वितरण, उपभोक्ता सचेतना अभियान र अन्तक्रियात्मक गोष्ठीहरू सञ्चालन गरिनेछन् ।
नेपालको अर्थतन्त्रमा दुग्ध क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ । कुल कृषि गार्हस्थ्य उत्पादन (न्म्ए) मा पशुपालन क्षेत्रको योगदान करिब २५ प्रतिशत रहेको छ, जसमा दुग्ध क्षेत्र मुख्य उपक्षेत्र हो । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार नेपालमा वार्षिक २७ लाख १८ हजार १७७ मेट्रिक टन दूध उत्पादन भएको छ ।
यो क्षेत्रले ग्रामीण अर्थतन्त्रमा वार्षिक करिब २८ अर्ब रुपैयाँ सहरबाट गाउँतर्फ प्रवाह गर्दै ३ लाख ८० हजार परिवारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । दूध बिक्रीबाट प्राप्त हुने नियमित आम्दानीले किसानहरूको जीवनस्तर सुधार, बालशिक्षा र स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै गरिबी न्यूनीकरणमा प्रभावकारी भूमिका खेलेको छ ।
स्वास्थ्यको दृष्टिकोणले दूधलाई एक सन्तुलित र पूर्ण खाना मानिन्छ, जसमा शरीरको विकासका लागि आवश्यक प्रोटिन, क्याल्सियम, र विभिन्न भिटामिनहरू प्रचुर मात्रामा पाइन्छन् । नेपालमा व्याप्त बाल कुपोषण, पुड्कोपन र कम तौल जस्ता समस्या न्यूनीकरण गर्न “स्कुल मिल्क प्रोग्राम“ र नियमित दूध सेवनलाई प्रोत्साहन दिने उद्देश्य यो दिवसको रहेको छ ।
चिकित्सकहरूका अनुसार हड्डीको मजबूती र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि दूधको सेवन अनिवार्य छ । औद्योगिक विकासतर्फ नेपालमा हाल विराटनगर, चितवन, पोखरा, र हेटौंडा लगायतका ९ वटा धूलो दूध (पाउडर मिल्क) कारखाना सञ्चालनमा रहेका छन् ।
यी उद्योगहरूले वर्ष २०८२ मा करिब ५ करोड लिटर दूध प्रशोधन गरी ४ हजार १५० मेट्रिक टन धूलो दूध उत्पादन गरेका छन् । पछिल्लो चार वर्षमा दुग्धजन्य पदार्थको व्यापारमा ७१ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले यो क्षेत्रको निर्यात क्षमता र औद्योगिक भविष्य आशालाग्दो देखिएको छ ।
















