१४ श्रावण २०८३, बिहिबार

पूँजीबजार विकास मार्गचित्र कार्यान्वयनमा चुनौती : दैनिक ३० अर्ब कारोबारको लक्ष्य पूरा होला?



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै सार्वजनिक गरेको १० वर्षे पूँजीबजार विकास मार्गचित्रलाई कार्यान्वयनमा लैजान आवश्यक तयारी थालेको छ। मार्गचित्रमा उल्लेख गरिएका लक्ष्यहरूलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्न बोर्डले विस्तृत कार्ययोजना तयार गरेको हो।

बोर्डका विभिन्न विभागले आफ्नो जिम्मेवारीअनुसार छुट्टाछुट्टै कार्ययोजना तयार पारिसकेका छन्। स्रोतका अनुसार ती योजनालाई एकीकृत गरी छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको छ।

सेबोनका अनुसार मार्गचित्र कार्यान्वयनसँग सम्बन्धित केही कानुनी तथा नियामकीय व्यवस्थामा संशोधन आवश्यक भएकाले सम्बन्धित नियमावली परिमार्जनका प्रस्ताव अर्थ मन्त्रालयमा पठाउने तयारी पनि भइरहेको छ।

करिब दुई साताअघि सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले सार्वजनिक गरेको १० वर्षे मार्गचित्रमा पूँजीबजारको दीर्घकालीन विकासका लागि नीतिगत, कानुनी, संस्थागत तथा प्राविधिक सुधारका कार्यक्रम समयसीमासहित समावेश गरिएको छ।

मार्गचित्रले नेपालको पूँजीबजारलाई थप फराकिलो, आधुनिक र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको छ। यसअन्तर्गत दैनिक सेयर कारोबारलाई ३० अर्ब रुपैयाँसम्म पुर्‍याउने, बजार पुँजीकरणलाई मुलुकको कुल अर्थतन्त्रको आकारको करिब १५० प्रतिशत बराबर बनाउने तथा सूचीकृत कम्पनीको संख्या ५०० पुर्‍याउने उद्देश्य राखिएको छ।

दैनिक ३० अर्ब कारोबारको चुनौतीपुर्ण लक्ष्य

हालको बजार अवस्था हेर्दा दैनिक ३० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार तत्काल हासिल गर्न सहज देखिँदैन। यस्तो लक्ष्य पूरा गर्न बजारको संरचनागत सुधार, लगानीकर्ताको आधार विस्तार तथा नयाँ वित्तीय साधनको विकास अपरिहार्य मानिन्छ।

यसै सन्दर्भमा सेबोनले गैरआवासीय नेपाली (एनआरएन) लाई नेपाली पूँजीबजारमा आकर्षित गर्ने योजना अघि बढाएको छ। बोर्डका अध्यक्ष र एनआरएन प्रतिनिधिहरूबीच यस विषयमा छलफलसमेत भइसकेको छ।

यद्यपि एनआरएनको सहभागिताले मात्रै दैनिक ३० अर्ब रुपैयाँ कारोबारको लक्ष्य हासिल हुने अवस्था देखिँदैन। बजारको दायरा विस्तारसँगै सूचीकृत कम्पनीको संख्या, बजार पुँजीकरण र सक्रिय लगानीकर्ताको संख्या उल्लेख्य रूपमा बढ्न आवश्यक छ।

विशेषगरी बैंक, बीमा कम्पनी, जलविद्युत् तथा उत्पादनमूलक क्षेत्रका ठूला संस्थागत लगानीकर्ताको सहभागिता अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ। साथै बण्ड, डेरिभेटिभ, एक्सचेञ्ज ट्रेडेड फन्ड (ईटीएफ) लगायतका आधुनिक वित्तीय उपकरणको विकास र विस्तारले कारोबार वृद्धि गर्न सहयोग पुग्न सक्छ।

मार्गचित्रले पूँजीबजारको दीर्घकालीन विकासका लागि स्पष्ट दिशा तय गरेको छ, त्यसको सफलता भने कार्यान्वयनको प्रभावकारितामै निर्भर रहनेछ। निर्धारित समयसीमाभित्र कानुनी सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्तामैत्री वातावरण, संस्थागत लगानीको विस्तार तथा नियामकीय क्षमता सुदृढ गर्न सकिएमा मात्र बोर्डले लिएको महत्वाकांक्षी लक्ष्यहरू व्यवहारमा रूपान्तरण हुने अपेक्षा गर्न सकिन्छ।

अन्यथा मार्गचित्र कागजमै सीमित रहने र दैनिक ३० अर्ब रुपैयाँ कारोबारको लक्ष्य हासिल गर्न अझै लामो समय कुर्नुपर्ने अवस्था आउन सक्छ।