काठमाडौंमा तीन दिनसम्म आर्थिक तथा व्यक्तिगत स्वतन्त्रताको विश्वव्यापी बहस
काठमाडौं । नेपालमा पहिलोपटक आयोजना गरिएको ४०औँ लिबर्टी इन्टरनेशनल विश्व सम्मेलन (एलआईडब्ल्यूसी २०२६) तीन दिनको अन्तर्राष्ट्रिय बहसपछि आइतबार काठमाडौंमा सम्पन्न भएको छ। अगस्ट ७ देखि ९ सम्म आयोजित सम्मेलनमा व्यक्तिगत तथा आर्थिक स्वतन्त्रता, उद्यमशीलता, लोकतान्त्रिक शासन, संविधान, सार्वजनिक नीति, खुला बजार, प्रविधि तथा डिजिटल स्वतन्त्रतामार्फत आर्थिक समृद्धिको सम्भावनाबारे बहस भएको थियो।
‘लिबर्टी राइजिङ : बिल्डिङ फ्रिडम इन अ चेन्जिङ वर्ल्ड’ भन्ने मूल अवधारणामा आयोजित सम्मेलनमा नेपालसहित विभिन्न देशका अर्थशास्त्री, लेखक, उद्यमी, नीतिनिर्माता, अनुसन्धानकर्ता, स्वतन्त्रता अभियन्ता तथा बौद्धिक व्यक्तित्व सहभागी भएका थिए। आयोजकका अनुसार सम्मेलनमा करिब १०० जना नेपाली तथा ५० जना अन्तर्राष्ट्रिय सहभागी, वक्ता र प्रतिनिधिको उपस्थिति थियो।
सम्मेलनमा नेपालको राजनीतिक तथा आर्थिक रूपान्तरणदेखि विश्वव्यापी आर्थिक स्वतन्त्रता, सम्पत्ति सिर्जना, उद्यमशीलता, कर नीति, नवप्रवर्तन र डिजिटल स्वतन्त्रतासम्मका विषयमा विभिन्न सत्रमा छलफल गरिएको थियो।
सम्मेलनको पहिलो दिन नेपालको राजनीतिक तथा आर्थिक रूपान्तरणमा केन्द्रित बहस भएको थियो। लिबर्टी इन्टरनेशनलका बोर्ड सदस्य पेर बाइलुन्ड र ग्लेन क्राइपले व्यक्तिगत स्वतन्त्रता, उद्यमशीलता र खुला अर्थतन्त्रको महत्वबारे धारणा राख्दै नयाँ पुस्तामा स्वतन्त्र समाज र उद्यमशीलताको भावना विकास गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाली लेखक तथा उद्यमी सुजीव शाक्यले ‘नेपाल : राजनीतिक र आर्थिक रूपान्तरण’ विषयमा प्रस्तुति दिएका थिए। उनले नेपाललाई भारत र चीनबीचको भूपरिवेष्ठित मुलुकका रूपमा मात्र नभई दुई ठूला बजारसँग जोडिन सक्ने ‘ल्याण्ड कनेक्ट’ मुलुकका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए।
उनले युवा जनशक्तिको वैदेशिक पलायन, सीमित रोजगारी र उत्पादनमुखी अर्थतन्त्रको अभावलाई नेपालको प्रमुख चुनौतीका रूपमा औँल्याउँदै निजी क्षेत्र, उद्यमशीलता, पूर्वाधार विकास र नीतिगत सुधारमा जोड दिएका थिए।
पहिलो दिन ‘संविधान कार्यान्वयन : चुनौती र सफलता’ विषयमा पनि छलफल भएको थियो। संघीयताको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, संस्थागत सुधार, सुशासन र राजनीतिक स्थायित्वका विषयमा सहभागीहरूले धारणा राखेका थिए।
दोस्रो दिनको बहस भने सम्पत्ति सिर्जना, उद्यमशीलता र बजार अर्थतन्त्रमा केन्द्रित भएको थियो। ‘द वेल्थ अफ नेसन्स’, ‘आन्त्रप्रेनरसिप एन्ड मार्केट’, ‘फ्युलिङ द फ्युचर’, ‘स्टार्टअप्स पावरिङ इकोनोमिक ग्रोथ’, ‘सिभिल सोसाइटी एन्ड स्टेट कन्ट्रोल’ तथा ‘ट्याक्सेसन भर्सेस इनोभेसन’ लगायतका सत्रमा आर्थिक स्वतन्त्रता र बजारको भूमिकाबारे छलफल गरिएको थियो।
स्टार्टअप तथा नयाँ उद्यमले आर्थिक वृद्धिमा खेल्न सक्ने भूमिकाबारे पनि वक्ताहरूले आफ्ना अनुभव प्रस्तुत गरेका थिए। नेपालमा युवा उद्यमशीलता, लगानीको वातावरण, निजी क्षेत्रको विस्तार तथा उत्पादन वृद्धि गर्न अनुकूल नीतिगत वातावरण आवश्यक रहेको विषय उठाइएको थियो।
कर नीति र नवप्रवर्तनबीचको सम्बन्ध पनि सम्मेलनको महत्वपूर्ण विषय बनेको थियो। वक्ताहरूले अत्यधिक नियमन तथा करको बोझले नवप्रवर्तन र उद्यमशीलतालाई कमजोर बनाउन सक्ने भन्दै आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने नीतिको आवश्यकता औँल्याएका थिए।
दोस्रो दिन विभिन्न व्यक्तित्व तथा संस्थालाई स्वतन्त्रता र आर्थिक सुधारका क्षेत्रमा योगदानका लागि अवार्डसमेत प्रदान गरिएको थियो। भारतीय लेखक तथा अर्थशास्त्रीलाई ‘लाइफटाइम लिबर्टेरियन अवार्ड’ प्रदान गरिएको आयोजकले जनाएको छ। नेपालको आर्थिक स्वतन्त्रता, सुशासन र समृद्धिबारे अनुसन्धान तथा सार्वजनिक बहसमा योगदान पुर्याउँदै आएको समृद्धि फाउन्डेसनलाई ‘भ्वाइस अफ लिबर्टी अवार्ड’ प्रदान गरिएको थियो।
न्युजिल्यान्डका अर्थशास्त्री तथा पूर्व अर्थमन्त्री सर रोजर डगलसलाई ‘फ्रिडम टर्च अवार्ड’ प्रदान गरिएको थियो।
सम्मेलनको तेस्रो तथा अन्तिम दिन भने प्रविधि, डिजिटल स्वतन्त्रता र आधुनिक उद्यमशीलतामा केन्द्रित बहस भएको थियो। ‘लिबर्टी : कम्युनिकेटिङ आइडियाज इफेक्टिभ्ली’, ‘द पावर अफ डिजिटल नोमाडिज्म’, ‘डिजिटल टुल्स टु स्प्रेड लिबर्टेरियनिज्म’ र ‘द केस अफ डिजिटल फ्रिडम’ लगायतका सत्र सञ्चालन भएका थिए।
टोमस पालिसियो र एन डायसले डिजिटल नोमाडिज्मको सम्भावना तथा यसले काम, उद्यमशीलता र विश्वव्यापी आर्थिक गतिविधिमा ल्याइरहेको परिवर्तनबारे धारणा राखेका थिए। त्यस्तै, मार्सिन ख्मिएलोव्स्कीले डिजिटल उपकरणमार्फत स्वतन्त्रतासम्बन्धी विचार र बहसलाई विश्वव्यापी रूपमा विस्तार गर्न सकिने सम्भावनाबारे प्रस्तुति दिएका थिए।
तेस्रो दिनको बहसले डिजिटल स्वतन्त्रतालाई प्रविधिको विषयमा मात्र सीमित नराखी नागरिक अधिकार, सूचना पहुँच, आर्थिक अवसर र आधुनिक उद्यमशीलतासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिएको थियो।
तीन दिनको सम्मेलनमा उठेका बहसलाई समग्रमा हेर्दा आर्थिक रूपान्तरण, उद्यमशीलता र डिजिटल स्वतन्त्रतालाई नेपालको भविष्यसँग जोडेर प्रस्तुत गरिएको थियो। लगानी वातावरण सुधार, निजी क्षेत्रको भूमिका विस्तार, युवा उद्यमशीलता, उत्पादन वृद्धि, नीतिगत स्थिरता, संस्थागत सुधार तथा प्रविधिमैत्री अर्थतन्त्र निर्माणलाई नेपालका लागि महत्वपूर्ण विषयका रूपमा उठाइएको थियो।
विश्वका विभिन्न मुलुकबाट आएका सहभागीले आ–आफ्ना देशका अनुभव प्रस्तुत गरेकाले नेपालले आफ्नै राजनीतिक तथा आर्थिक सन्दर्भअनुसार ती अनुभवबाट सिक्ने अवसरसमेत सम्मेलनले दिएको आयोजकको भनाइ छ।
नेपालमा पहिलोपटक लिबर्टी इन्टरनेशनलको विश्व सम्मेलन आयोजना हुनुलाई आयोजकले नेपालको स्वतन्त्रता, बजार अर्थतन्त्र र आर्थिक सुधारसम्बन्धी बहसलाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
सम्मेलनको औपचारिक कार्यक्रमअघि अगस्ट ६ मा काठमाडौं टुर आयोजना गरिएको थियो भने अगस्ट ८ मा सहभागी तथा विशिष्ट अतिथिका लागि अफसाइट भीआईपी डिनर आयोजना गरिएको थियो।













