बीमा कम्पनीहरुलाई हिसाब राख्ने नयाँ मापदण्डले तनाव, बैंकको नियम पनि लगाइदिँदा झनै समस्या
नयाँ लेखा मापदण्डले बीमा कम्पनीहरूको नाफामा उल्लेख्य कटौती हुनसक्ने भएपछि नेपाली बीमा बजारमा एक किसिमको खैलाबैला मच्चिएको छ।
काठमाडौँ । बीमा क्षेत्रको हिसाबकिताब राख्ने पद्धतिमा आएको आमूल परिवर्तनले अहिले समग्र बजारलाई नै तरङ्गित बनाएको छ। वर्षाैँदेखि चल्दै आएको लेखा प्रणालीलाई एकाएक विस्थापित गर्दै आधुनिक तथा अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्नुपर्दा कम्पनीका शीर्ष नेतृत्वहरू गम्भीर तनावमा परेका छन्।
यसै वर्षदेखि पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने भनिएका एनएफआरएस–१७ र एनएफआरएस–९ जस्ता जटिल लेखा मापदण्डका कारण बीमा कम्पनीहरूलाई आफ्ना वित्तीय विवरण तयार पार्न नै धौधौ परेको छ। यसैमाथि बैंक तथा वित्तीय संस्था सरहका कडा नियमहरू पनि जोडिएपछि बीमा क्षेत्रको आन्तरिक व्यवस्थापनमा ठूलो समस्या सिर्जना भएको छ।
नयाँ मापदण्डहरूको प्रभाव विशेष गरी जीवन बीमा कम्पनीहरूको नाफामा सीधा पर्ने देखिएकाे छ। यसअघिको अभ्यासअनुसार बीमालेख (पोलिसी) बिक्री गर्दा नै त्यसबाट आउने सम्भावित नाफा (सरप्लस) तत्कालै देखिने गर्दथ्याे। तर नयाँ व्यवस्थाले बीमा सेवा प्रदान गर्दै जाने अवधिको आधारमा मात्रै नाफा क्रमशः पुस्तकमा चढाउनुपर्ने नियम बनाएको छ।
यसले गर्दा जीवन बीमा कम्पनीहरूको नाफाको ग्राफमा राम्रै गिरावट आउने देखिएको छ। खासगरी पुराना जीवन बीमक कम्पनीहरूकाे नयाँ वित्तीय विवरणमा यस्ताे असर ज्यादा देखिन सक्ने जानकार बताउँछन् । त्यस्तै, केही निर्जीवन बीमा कम्पनीहरूको वित्तीय विवरणमा समेत यसले असरदार प्रभाव पार्ने भएकाे छ।
लगानीको वास्तविक बजार मूल्य र भविष्यमा सम्भावित नोक्सानीको व्यवस्थापन गर्नुपर्ने कडा प्रावधानले गर्दा कम्पनीहरूको वासलातमा दबाब बढेको हाे।
नयाँ मापदण्डले कसरी पार्छ त फरक?
यी दुई लेखा मापदण्डले बीमा कम्पनीहरूको सम्पत्ति र दायित्वको हिसाब गर्ने तरिका नै पूरै फेरिदिएका छन्। उदाहरणका लागि, पहिले कुनै पनि निर्जीवन बीमा कम्पनीले आफ्नो लगानीलाई लागत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ। सोही आधारमा देखाउने छुट पाएका थिए।
तर एनएफआरएस–९ लागू भएपछि अब सबै लगानीलाई अनिवार्य रूपमा निष्पक्ष बजार मूल्यमा देखाउनुपर्छ। यसको अर्थ यदि बजारमा शेयर वा ऋणपत्रको मूल्य घटबढ भयो भने त्यसको सिधा असर कम्पनीको नाफा वा नोक्सानमा पर्छ। घरजग्गामा भएकाे लगानीले बीमा कम्पनीहरूकाे याे हिसाब अझै धेरै प्रभावित हुनसक्छ ।
खासगरी संभावित नाेक्सानीकाे व्यवस्था (एस्पेक्टेड क्रेडिट लस- इसीएल) का लागि नाफाबाट पैसा छुट्याउनु पर्ने (लगभग बैंककाे प्राेभिजनिङ जस्तै) व्यवस्थाका कारण बीमा कम्पनीहरू अप्ठेराेमा पर्ने देखिएकाे बीमा क्षेत्रका जानकार बताउँछन् ।
त्यस्तै, एनएफआरएस–१७ ले बीमा कम्पनीको मुख्य दायित्व अर्थात् बीमित प्रतिको जिम्मेवारीलाई वर्तमान ब्याजदरको आधारमा मूल्यांकन गर्न सिकाउँछ। यसअघि पुरानो नियममा आधारित रहेर भविष्यको दाबी भुक्तानीको दायित्व अनुमान गर्ने गरिएको थियो।
अब बजारको उतारचढावसँगै बीमा दायित्व पनि फेरिने भएकाले कम्पनीहरूले आफ्नो नगद प्रवाह र लगानीको तालमेल मिलाउनै कठिन भएको छ। एकातिर बीमितलाई दिनुपर्ने दायित्व बढ्ने र अर्कोतिर लगानीको मूल्य घट्न सक्ने जोखिमले गर्दा कम्पनीहरूको वास्तविक वित्तीय स्वास्थ्यबारे अनुमान गर्नै कठीन परेकाे कम्पनीहरू बताउँछन् ।
नियमको दोहोरो चेपुवामा नेतृत्व
बीमा क्षेत्रका जानकारहरूका अनुसार यो परिवर्तनले दीर्घकालमा बजारलाई पारदर्शी र बलियो बनाउने त छ, तर अल्पकालमा भने यसले व्यवस्थापनलाई ठूलो सकस दिएको छ। शिखर इन्स्याेरेन्सका उपमहाप्रबन्धक सुरज राजवाहक भन्छन्, “हामीले पाेहाेरदेखि नै याे नयाँ लेखाप्रणाली कार्यान्वयनमा ल्याइसकेका कारण अब अरू कम्पनीहरूलाइ सहज हुने छ ।”
तर बजारमा सबै कम्पनीले यसै वर्ष यी दुइ नयाँ लेखा मापदणडकाे कार्यान्वयन गर्न सक्छन् भन्नेमा धेरै मान्छे विस्वस्त छैनन् । बीमा क्षेत्रका दिग्गजहरूका अनुसार याे साल लेखापरीक्षण गर्दा आधाआधी कम्पनीहरू यसकाे कार्यान्वयनमा सफल हुनसक्छन् । तर पनि कठीनाइ कम छैन ।
बीमकहरूकाे कुरा मान्ने हाे भने एकातिर अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका यी जटिल सफ्टवेयर र विशेषज्ञ जनशक्ति जुटाउन कम्पनीहरूलाई हम्मेहम्मे परेको छ त अर्कोतिर बैंकहरूको जस्तै कडा नियमनकारी प्रावधान पालना गर्नुपर्दा लाभांश वितरण क्षमतामा समेत ठूलो असर पुग्ने अवस्था देखिएकाे छ।
यसाे हुँदा बीमा कम्पनीका सेयरधनीहरू लाभांश घटेर निराश बन्ने अवस्था आउन सक्कोछ । साथै नियामक निकायको कडा निगरानीले कम्पनीहरूलाई पाइला-पाइलामा सचेत बन्न बाध्य पारेको छ। नयाँ मापदण्डले ल्याएको यो उथलपुथलले नेपाली बीमा बजारलाई अब व्यावसायिक बन्न र वास्तविक जोखिम व्यवस्थापन गर्न सिक्नैपर्ने पाठ पढाएको छ। तर यसको सुरुवाती चरणमा भने कम्पनीहरूले हिसाब मिलाउनकै लागि ठूलो सास्ती ब्यहोर्नुपरिरहेको छ।
















