नेपालगन्जमा अथरको १५औँ अनुभव केन्द्र विस्तार
नेपालगन्ज । नेपालमा आफ्नो विद्युतीय सवारीको राष्ट्रव्यापी सञ्जाललाई थप बलियो बनाउँदै अथर नेपालले नेपालगन्जमा १५औँ अनुभव केन्द्र (एक्सपिरियन्स सेन्टर) सञ्चालनमा ल्याएको छ। बसपार्क रोड, न्यूरोड-२ मा अवस्थित यस नयाँ अनुभव केन्द्रमार्फत नेपालगन्ज तथा आसपासका क्षेत्रका ग्राहकहरूले अथरका नवीनतम विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि र सेवालाई नजिकबाट नियाल्न सक्नेछन्।
यस नयाँ विस्तारसँगै काठमाडौँ, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगर जस्ता प्रमुख सहरहरूमा पहुँच पुर्याइसकेको अथरको सञ्जालले प्रिमियम र भरपर्दो विद्युतीय सवारीलाई देशव्यापी बनाउने यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपेको छ।
नेपालगन्जको अनुभव केन्द्रमा ग्राहकका लागि अथरका दुई प्रमुख मोडलहरू ‘अथर ४५०’ र ‘अथर रिज्ता’ उपलब्ध गराइएको छ। जहाँ थलप्रसाद, मोडल अवलोकन, प्रविधि परीक्षण तथा नि:शुल्क टेस्ट राइड (परीक्षण सवारी) को सुविधा दिइनेछ। dynamic र आधुनिक सहरी यात्राका लागि ‘अथर ४५०’ उपयुक्त मानिन्छ भने दैनिक तथा पारिवारिक सहजता, कम्फर्ट र स्मार्ट सुविधाहरूको उत्कृष्ट संगमका रूपमा ‘अथर रिज्ता’लाई प्रस्तुत गरिएको छ।
सवारी हाक्ने अनुभवलाई थप सहज र प्रविधिमैत्री बनाउन अथरले स्मार्ट सुविधाहरू समावेश गरेको छ। जसअन्तर्गत बारम्बार ब्रेक थिच्न नपर्ने ‘म्याजिक ट्विस्ट’, लामो दूरीको यात्रा सहज बनाउने ‘इन्फिनिट क्रुज’, र आवाजकै भरमा कमान्ड दिन सकिने ‘भ्वाइस इन्टर्याक्सन’ प्रविधि रहेका छन्। यी सुविधाहरूले विद्युतीय सवारीको यात्रालाई वातावरणमैत्रीका साथै थप स्मार्ट र रमाइलो बनाउने कम्पनीको विश्वास छ।
विद्युतीय सवारीमा ग्राहकको दीर्घकालीन विश्वास कायम राख्न अथर नेपालले बलियो बिक्रीपछिको सेवा (आफ्टर-सेल्स सपोर्ट) र चार्जिङ सञ्जाललाई प्राथमिकतामा राखेको छ। यसैअन्तर्गत ‘एट-सेभेन्टी (Eight70)’ ब्याट्री वारेन्टी उपलब्ध छ, जसले आठ वर्षसम्म ब्याट्रीको सुरक्षाको प्रत्याभूति दिन्छ। हाल नेपालभर ५० भन्दा बढी द्रुत-चार्जिङ (फास्ट-चार्जिङ) स्टेसन र १० भन्दा बढी अधिकृत सर्भिस सेन्टरहरू सञ्चालनमा रहेका छन्।
नयाँ अनुभव केन्द्र खुलेको खुसीयालीमा अथर नेपालले नेपालगन्जका ग्राहकहरूका लागि विशेष छुट तथा सुविधा (ओपनिङ स्किम) सार्वजनिक गरेको छ। असोज ३ गतेसम्म लागू हुने यस योजनाअन्तर्गत नगद खरिदमा ८ वर्षको विस्तारित ब्याट्री वारेन्टी, किस्ताबन्दी (ईएमआई) खरिदमा शून्य प्रतिशत ब्याजदर, र पुरानो सवारी साट्दा (एक्सचेन्ज) थप ८ हजार रुपैयाँसम्मको भ्यालुएसन बोनस प्राप्त गर्न सकिनेछ।












