भरतपुरमा गुडिरहेको ‘जीएसी आयोन’ कार जल्दा ५६ वर्षीय चालकको निधन
चितवनको भरतपुरमा गुडिरहेको अवस्थामा विद्युतीय कारमा अचानक आगो लाग्दाभित्रै फसेका ५६ वर्षीय चालकको ज्यान गएको घटनाले नेपालमा ईभी गाडीहरूको प्राविधिक सुरक्षा र स्वचालित प्रणालीमाथि गम्भीर प्रश्न उब्जाएको छ।
काठमाडाैँ । भदौ २६ गते बिहान ६ बजे चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकको पूर्व–पश्चिम राजमार्गको सर्भिसलेनमा एउटा गम्भीर दुर्घटना भयो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश-०१-०३० च ५५७९ नम्बरको विद्युतीय कार गुडिरहेको अवस्थामा अचानक आगोको लप्कामा परिणत भयो।
चीनको प्रख्यात ग्वाङझाउ अटोमोबाइल ग्रुपद्वारा उत्पादित र नेपालमा सीजी मोटर्सद्वारा आयातित ‘जीएसी आयोन’ ब्राण्डको उक्त ईभी कारभित्र रहेका ५६ वर्षीय चालक अमर पराजुलीको यस दुर्घटनामा ज्यान गयो। भरतपुर महानगरपालिका-१२ घर भई आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका पराजुली गुडिरहेको गाडीबाट बाहिर निस्कन नपाउँदै आगोको मुस्लोमा परे।
स्थानीयहरूले आगो दन्किरहेको अवस्थामा कार रोक्न आग्रह गरे पनि नियन्त्रण बाहिर पुगेको सो गाडी सडकको डिभाइडरमा ठोक्किएको थियो। सुरक्षाकर्मी र दमकलको प्रयासमा आगो निभाइए पनि तबसम्म धेरै ढिला भइसकेको थियो र चालकलाई बचाउन सकिएन।
अटोमेटेड फिचर र प्राविधिक चुनौती
यस दुःखद् घटनाले समग्र देशमा विद्युतीय सवारी साधनको सुरक्षा, तिनका स्वचालित प्रणाली र प्राविधिक पक्षलाई लिएर ठूलो बहस सिर्जना गरेको छ।
यसअघि चीनमा पनि जीएसी आयोनका केही कार गुडिरहेको अवस्थामा आगलागी भएको घटना बाहिर आएका थिए, जहाँ ब्याट्री सेल फुल्ने, लिकेज हुने र पावर सिस्टममा गडबडी देखिने जस्ता समस्या औँल्याइएको थियो।
यद्यपि, भरतपुरको यस घटनामा आगलागीको वास्तविक कारण के हो भन्नेबारे जिल्ला प्रहरी कार्यालय चितवनका प्राविधिकहरूसँगको समन्वयमा गहिरो अनुसन्धान भइरहेको छ भने मृतकको पोस्टमार्टम भरतपुर अस्पतालमा सम्पन्न भइसकेको छ।
लामो समयदेखि चर्चित ईभी कम्पनीहरूमा प्राविधिक प्रमुखको रूपमा काम गरेका विज्ञहरूका अनुसार आधुनिक चिनियाँ ईभीहरूमा रहेका जटिल स्वचालित फिचरहरूले बेलाबेलामा अनपेक्षित समस्या निम्त्याउने गरेका छन्। भरतपुरको घटनामा पनि समयमै ढोका खुलेको भए चालकको ज्यान बचाउन सकिन्थ्यो होला भन्ने प्राविधिक अनुमान गरिएको छ, यद्यपि यसको आधिकारिक र वैज्ञानिक पुष्टि हुन बाँकी छ।
धेरै उपभोक्ताहरू गाडी खरिद गर्दा त्यसका सम्पूर्ण प्राविधिक तथा अटोमेसन प्रणालीबारे राम्ररी अध्ययन नगरीकनै प्रयोग गर्ने प्रवृत्तिले पनि जोखिम बढाएको विज्ञहरूको ठम्याइ छ।
थर्मल रनवेको जोखिम
विद्युतीय सवारी साधनहरूमा आगलागी हुनुको पछाडि सबैभन्दा ठुलो प्राविधिक जोखिम ‘थर्मल रनवे’लाई मानिने विभिन्न अध्ययनले देखाएको छ। ईभीहरूमा सामान्यतया उच्च भोल्टेजका लिथियम–आयन प्रविधिका ब्याट्रीहरू प्रयोग गरिएका हुन्छन्। जब ब्याट्रीको कुनै एउटा सेल असामान्य रूपमा अत्यधिक तात्यो वा बाह्य कारणले क्षतिग्रस्त भयो, तब त्यहाँबाट अनियन्त्रित रासायनिक प्रतिक्रिया सुरु हुन्छ।
अमेरिकी संस्था ‘नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड’ले गरेको अध्ययन अनुसार यसरी उत्पन्न हुने प्रतिक्रियाले थप ताप पैदा गर्दै जान्छ र क्रमशः एउटा सेलबाट अर्को सेलमा आगो फैलिन थाल्छ। यसले ब्याट्रीभित्रको तापक्रम र दबाब अनियन्त्रित तवरले माथि पुर्याउँछ।
यसको सबैभन्दा खतरनाक पक्ष बाहिरबाट आगो निभे जस्तो देखिए पनि भित्री रासायनिक प्रक्रिया नरोकिंदा गाडी जुनसुकै बेला फेरि बल्ने सम्भावना रहनु हो।
अमेरिकाको ‘नेसनल इन्स्टिच्युट अफ स्ट्यान्डर्ड्स एन्ड टेक्नोलोजी’ले मार्च २०२६ मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सन् २०११ यता विश्वभर विद्युतीय तथा प्लग-इन हाइब्रिड सवारीसाधनसँग जोडिएका करिब ५ हजार ७१८ वटा आगलागीका घटना भएको अनुमान गरेको छ।
नेपालको सन्दर्भमा भने ईभीको प्रयोग तीव्र गतिमा बढे पनि यससम्बद्ध प्राविधिक सुरक्षा र राष्ट्रिय डेटाबेस प्रणाली लगभग शून्यप्रायः छ। नेपालमा भएका ईभी आगलागीका घटनाहरूमा ब्याट्री, चार्जिङ सिस्टम वा बाह्य कारण के कति, कुन अनुपातमा जिम्मेवार छन् भन्ने वैज्ञानिक तथा वर्गीकृत तथ्यांक सार्वजनिक रूपमा उपलब्ध छैन।
ईभी प्रयोगकर्ताहरूले अब यस्ता प्रत्येक घटनाको निष्पक्ष र प्राविधिक छानबिन अनिवार्य रूपमा गरिनुपर्ने माग गर्दै आएका छन्।












