नबिल बैंकद्वारा ४२ औँ साधारण सभा आह्वान: १५.८० प्रतिशत लाभांश पारित गर्दै
काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न नबिल बैंकले साधारणसभा बाेलाएकाे छ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंककाे ४२ औँ वार्षिक साधारणसभा आउँदो असोज २२ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने छ। जसमा ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (करसहित) छन्।
यस्तै सभाले ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ३४ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्नुपर्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान वा बैंकले अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।
यस्तै सभाले संस्थापक शेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।
लाभांश र सभा प्रयोजनार्थ बैंकले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।












