सिटिजन्स बैंकले सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने
काठमाडौं। सिटिजन्स बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने भएको छ। बैंकको बुधबार बसेको ५२१औँ सञ्चालक समितिको बैठकले ४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।
बैंकले २०८३ असार मसान्तको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशत अर्थात् ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ। त्यस्तै, कर प्रयोजनका लागि ०.२० प्रतिशत अर्थात् ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ।
बोनस सेयर र नगद लाभांश गरी बैंकले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकका अनुसार २०६४ वैशाख ७ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै सेयरधनीलाई निरन्तर लाभांश दिँदै आएको छ ।
बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ । प्रस्तावित लाभांशसमेत जोड्दा पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत पुग्ने बैंकले जनाएको छ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको सिटिजन्स बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।












