पहिलो दुई महिनामा विप्रेषण २३.९ प्रतिशतले बढ्यो
काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपाल भित्रिने विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेर रु. ४ खर्ब ३६ अर्ब ३६ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो। यस वर्षको पहिलो दुई महिनामा पनि विप्रेषणमा उल्लेख्य वृद्धि देखिए पनि वृद्धिदर अघिल्लो वर्षको तुलनामा कम रहेको छ।
प्रतिवेदनअनुसार २०८३ भदौ महिनामा मात्रै रु. २ खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ। अघिल्लो वर्षको भदौमा यस्तो रकम रु. १ खर्ब ७४ अर्ब ६७ करोड थियो। अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिको विप्रेषण आप्रवाह १३.५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड अमेरिकी डलर पुगेको छ।
विप्रेषण नेपालको बाह्य क्षेत्र तथा विदेशी मुद्रा प्राप्तिको महत्त्वपूर्ण स्रोत हो। विदेशमा काम गर्ने नेपालीले पठाउने रकमले परिवारको खर्च, शिक्षा, स्वास्थ्य र अन्य आवश्यकतामा योगदान पुर्याउँछ। साथै, विप्रेषणले देशको विदेशी मुद्रा सञ्चितिमा समेत सहयोग पुर्याउँछ।



















